पुस १५, काठमाडौं । वरिष्ठ आख्यानकार तथा साहित्यकार रमेश विकलको ११ औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङग्रहालय भवनको उद्घाटन गरिएको छ । प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेको बताए । साथै मन्त्री अधिकारीले साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको सरकारले कदर गर्ने प्रतिबद्धता जनाए ।
सांसद कृष्ण राईले विकल जनताको साहित्यकार बन्न सफल भएको स्मरण गरे । पूर्वमन्त्री अम्बिका बस्नेतले साहित्यिक प्रतिभाको खोजीमा सरकार सक्रिय हुनुपर्ने विचार राखिन् । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विकलले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकासप्रेमी साहित्यकार विकल उपत्यकाको पूर्वोत्तर भेगको मात्र नभई देशकै नक्षत्र भएको बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव एवं विकलका पुत्र वरिष्ठ पत्रकार विजय चालिसेलगायतले विकलले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए । सो अवसरमा २०७४ सालको रमेश विकल वाङ्मय पुरस्कार कथाकार डा राजेन्द्र विमललाई प्रदान गरियो । यसैगरी हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई रमेश विकल–सुशीला समाज सेवा पुरस्कार प्रदान गरियो ।
यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई रमेश विकल सृजना पुरस्कार तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई रमेश विकल बालसाहित्य पुरस्कार’ दिइएको थियो । सङ्घर्षशील नारी लक्ष्मी शर्मालाई रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई रमेश विकल सङ्गीत पुरस्कार प्रदान गरिएको थियो ।

