समाजका विभेद र असमानता हटाउन लागिपरेको छः प्रधानमन्त्री

पुस १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई आज शुभकामना सन्देश दिँदै उहाँले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै “विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन भन्नुभयो ।”

हामी लामो समय राजनीतिक हकअधिकारप्राप्तिको सङ्घर्षमा होमिनुपर्दा देशले विकासको गति लिन नसकेको र जनताले अभाव, अशिक्षा एवम् गरीबी भोग्नुपरेको बताउँदै उहाँले नेपालमा राजनीतिक मुद्दा सकिएकाले अब हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं भन्नुभयो । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभयो, “सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हँुदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ ।”

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिका आफ्ना आफ्नै खालका विशेषता र आफ्नै संवत्, संस्कृति र चाडपर्व रहेको उल्लेख गर्दै उहाँले त्यसैमध्येका एक तमु जातिले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको बताउनुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.