प्रारम्भ खबर ।
पुस १२, काठमाडौं । राजधानीको रत्नराज्य क्याम्पस (आरआर) मा केही वर्षयता व्यवस्थापन कमजोर बन्दै गएको छ । देशभरका विद्यार्थीहरु अध्ययन गर्न आउने संख्याको चाप बढ्न थालेपछि भौतिक संरचनादेखि शैक्षिक व्यवस्थापनमा समस्या देखा परेको छ ।
त्रिभुवन विश्वविद्यालयले एम.ए. तहमा सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थीको चाप बढेकोले क्याम्पसले व्यवस्थापनमा चुकेको छ । एकैचोटी विद्यार्थी संख्या बढेपछि व्यवस्थापनमा केही समस्या आएको क्याम्पस प्रशासन बताउँदै आएपनि विद्यार्थीहरु सहज रुपमा कक्षामा बस्न नपाएको अंग्रेजी दोस्रो सेमेस्टर पढ्ने विद्यार्थीहरुको गुणासो छ ।
डेस्क बेन्च, बत्ति, शौचालय लगायत शैक्षिक पूर्वधारको व्यवस्थापन गर्न नसक्दा त्यसको मारमा विद्यार्थी परेका छन् । विहानी कक्षाहरुमा विद्यार्थीका लागि डेस्क बेन्चकै अभाव झेल्दै आएका विद्यार्थीहरु असहज परिस्थितिमा आएपनि बसेर पढ्नुपर्ने बाध्यता भएको बताउँदै आएका छन् । डेस्क बेन्च अभावकै कारण उनिहरु कहिले उभिनुपर्ने त कहिले ३ जनको सिटमा ४ जना बस्नु पर्दा सास्ती खेप्नुपर्ने बताएका छन् । पुरानो डेस्क बेन्चलाई पन्छाएर नयाँ टेबलसहितको बेन्च ल्याएर कक्षा कोठाहरुमा राख्दा विद्यार्थी विभागले निर्धारण गरेको विद्यार्थी संख्यालाई नपुगेको प्रशासनको तर्क छ । तथापी विद्यार्थीहरुको पटक–पटकको अनुरोधमा अश्वासन मात्र दिएको विद्यार्थीहरुको भनाई छ ।

पुरानो बेन्च के गर्ने ?
पहिलाको कक्षा कोठाहरुमा रहेको फलामे बेन्चहरु व्यवहरिसे अवस्थामा राखेको छ । उक्त डेस्क बेन्चहरुको व्यवस्था कसरी कहाँ गर्ने भन्ने अन्यौल रहेको क्याम्पस व्यवस्थापनले गर्दा विद्यार्थीलाई खुल्ला रुपमा बाहिर निस्किन समेत नसकिने गरी राखिएको पाएको छ । डेस्कको व्यवस्थापन नै नगरी नयाँ टेबलसहितको डेस्क राख्दा विद्यार्थीलाई बस्न सिटको अभाव भएको छ भने पहिलाको डेस्क बेन्चहरु बाहिर त्यतिकै अस्तव्यस्त तरिकाले राखिएको छ । विद्यार्थीहरु भन्छन्– ‘डेस्क बेन्च यसरी अलपत्र राखेको भन्दा विकट ठाँउका सरकारी विद्यालयहरुलाई उपलब्ध गराए राम्रो हुन्थ्यो ।’ त्यस्तै झ्याल ढोकाहरु पनि सिसा फुटेको र खुल्ला भएको कारण पठानपाठनको समेत समस्या आएको विद्यार्थीहरुको गुणासो छ । बाहिरको होहल्ला र विद्यार्थीहरुको ध्यान बाहिर जाँदा कक्षा सञ्चालनमा अवरोध हुने भएकोले तत्काल व्यवस्थापनले ध्यान दिनुपर्ने शिक्षक तथा विद्यार्थीहरुको भनाई छ ।
शौचालयको कन्ता विजोग
त्रिभुवन विश्वविद्यालय मातहतमा रहेको रत्नराज्य क्याम्पस प्रर्दशनीमार्गमा विशेष विषयगत कक्षाहरु हुने र देशभरका विद्यार्थीहरुको केन्द्रको रुपमा रहेका कारण विद्यार्थीको संख्या बढिरहेको छ । विद्यार्थी संख्याकै अनुपातमा भने क्याम्पसमा शौचालय, खानेपानी लगायत अन्य भौतिक संरचनाहरुको अभाव खट्किरहेको छ । छात्र÷छात्राका लागि छुट्टै शौचालयको व्यवस्था गरिए पनि त्यहाँभित्रको अवस्था भने विजोग रहेको छ । दुईटै शौचालयमा बत्ति जडान नभएको र पानीको समेत अभाव रहेको छ । अव्यवस्थित शौचालयमा फोहोरको डंगुरका साथै भित्तातिर अश्लिल तस्वीर तथा शब्दहरु कोरिएको पाईन्छ । शिक्षित विद्यार्थीहरुको साझा मन्दिरभित्र त्यस प्रकारको अपवित्र शब्दहरु देखिनु कस्लाई दोष देखाउने ? को आएर त्यस्तो क्रियाकलाप गछर्न ? क्याम्पस प्रशासनलाई कुनै चासो छैन ।
सोही क्याम्पसमा एम.ए अंग्रेजी अध्ययनरत विद्यार्थी सुरज श्रेष्ठ भन्छन्– ‘शौचालयमा पानी र बत्ति नहुनु भनेको विद्यार्थीको लागि एम्बुस थापे बराबर हो ।’ कुनै बेला स्वास्थ्य गढबढि हुँदा शौचालयमा बस्नु प¥यो भने कहाँ गएर शौच गर्ने ? उनको प्रश्न रहेको थियो ।
विद्यार्थी परिचयपत्रमा अनिमियतता
सेमेस्टर प्रणाली लागू गरेपछि क्याम्पसले विद्यार्थी परिचयपत्र पनि ६ महिनाको समयअवधि राखेर बनाउँदै आएको छ । विद्यार्थी भर्ना गरेको महिनौदिन बिते पनि परिचयपत्र उपलब्ध हुदैनन् । परिचय लिने शाखामा विद्यार्थी कार्ड किन ढिलाई भन्ने जिज्ञासामा प्रेस र प्रशासनलाई दोष देखाउँछन् । कार्ड छपाईमा पनि गुणस्तरहीन पाईन्छ तथापी क्याम्पस कर्मचारी भने यस विषयमा मौन रहेका छन् । डेस्क बेन्चदेखि परिचय पत्र छाप्ने ठेक्का लिने संस्थाहरुको गुणस्तरहिन कार्यमा व्यवस्थापन पक्ष जिम्मेवारी बन्ने कि ? यस विषमा छानविन गर्न सम्बन्धित निकायको चासो हुन आवश्यक छ ।

