पुस ११, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
सभामुख महराले देश र जनताको पक्षमा दृढतापूर्वक उभिँदै संसद र संसदीय गतिविधिलाई जनतामाझ पुर्याइदिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गरे । बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई जनतामाझ समाज सफल हुने विश्वास व्यक्त गरे । सभामुख महराले संघीय संसदमा जनताको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारे । उनले संसदको काम कारवाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराए ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गरे । उनले संवैधानिक व्यवस्था अनुसार कानुनको निर्माण तथा संशोधनको काम अघि बढ्ने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको बताए ।

