पुस ११, काठमाडौं । बुधबार बस्ने सङ्घीय संसदको दुबै सदनमा कर्मचारी समायोजन अध्यादेश पेश हुने भएको छ । सरकारले तीनै तहमा कर्मचारी समायोजन छिट्टो अगाडि बढाउन मङ्सिर २५ गते अध्यादेश जारी गरेको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन शाखाका उपसचिव अनिता निरौलाका अनुसार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभा र राष्ट्रियसभामा अध्यादेश सोमबार दर्ता गराएको हो । संविधानको धारा ११४ अनुसार, अध्यादेश दुबै सदनमा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक दर्ता नभए अध्यादेश स्वतः निष्कृय हुने संवैधानिक व्यवस्था छ ।
उहाँका अनुसार, बुधबार बस्ने दुबै सदनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश पेश गर्ने तयारी गर्नुभएको छ । अध्यादेश कर्मचारीमैत्री नभएको आरोप लगाउँदै निजामती कर्मचारी र साबिक स्थानीय तहका कर्मचारी आन्दोलित हुँदै आएका छन् । अध्यादेशलाई जस्ताको त्यस्तै प्रतिस्थापन विधेयकद्वारा पारित गर्ने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।

