नेपालबाट कामदार लिने जापान सरकारको निर्णय

पुस १०, काठमाडौं । जापान सरकारले विभिन्न कामका लागि नेपालबाट श्रमिकहरु लैजाने भएको छ। जापान टाइम्सका अनुसार मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सहित अन्य ९ वटा मुलुकबाट कामदारहरु लैजाने भएको हो। जापानले नेपाल सहित चीन, म्यानमार, मंगोलिया, इन्डिोनेशिया, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने भएको जनाएको छ।

जापान सरकारले तय गरेको योजना अनुसार पहिलो पाँच वर्षमा विभिन्न देशका लगभग ३ लाख ४५ हजार कामदारहरुलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ। विदेशी कामदारहरुलाई जापान सरकारले कृषि, उद्योग, निर्माण, माछापालन, नर्सिङ, ओलनलगायतका विभिन्न १४ वटा औद्योगिक क्षेत्रहरुमा रोजगारी उपलब्ध गराउने जनाएको छ। जापान सरकारले अदक्ष कामदार (ब्लु कलर) लाई पहिलो पटक श्रमिक भिसामा लैजान लागेको जापान टाइम्सले उल्लेख गरेको छ। यसअघि नेपालबाट औद्योगिक क्षेत्रमा कामदारहरु जाने गरेका थिए। जापानमा नेपाली कामदारहरुले कमाइ पनि राम्रो गर्ने र रोजगारीका लागि नेपालीहरुको राम्रो गन्तव्य समेत रहन सक्ने सरकारले अनुमान गरेको छ। जापानमा नेपाली कामदारहरुले ३ देखि ५ लाखसम्म नेपाली रुपैयाँ मासिक कमाइ गर्दै आएका छन्।

विदेशी कामदारहरुका लागि जापानीज भाषाको छुट्टै कक्षा सञ्चालन समेत गरी भाषागत दक्षतामा थप सुधार गर्ने भएको छ। कामदारहरुको सीप परीक्षण गरी उनीहरुको सीप अनुसारको रोजगारी उपलब्ध गराउने भएको उक्त पत्रिकामा उल्लेख गरिएको छ। जापान र नेपालबीच कामदारहरु सरकारी स्तरबाट नै पठाउने बारे दुई देशबीच छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.