जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्नः मन्त्री बाँस्कोटा

पुस १०, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ ।

बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।” उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।” मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुहुन्न भन्नुभयो । उहाँले भन्नुभयो, “कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन ।” उहाँले धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताउँदै हामीले धार्मिक सहिष्णुता अङ्गालेका छौँ भन्नुभयो । “हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्, हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको सङ्कल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म नैतिकतामा आधारित हुन्छ, एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.