खेलाडी संघलाई पूर्व खेलाडीको साथ

पुस १०, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमका लागि आदर्श समाज विकास केन्द्रले प्रायोजकका रुपमा सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिकास्थित मंगलबजारको संग्रहालयमा हुने कार्यक्रममा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्टमध्येबाट एक महिला र एक पुरुष सर्वोत्कृष्ट खेलाडी, एक पाका खेलाडीलाई आदर्श खेलाडी तथा एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कार गरी विभिन्न विधामा खेलकर्मीलाई सम्मानित गरिनेछ । कार्यक्रममा समावेश पत्रकारिता पुरस्कारको २५ हजार नगद तथा अन्य व्यवस्थापनका लागि आदर्श समाज विकास केन्द्रले वार्षिक १ लाखका दरले तीन वर्षसम्मका लागि मंगलबार सम्झौता गरियो ।  सम्झौतापत्रमा खेलाडी संघका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ र आदर्श समाज विकास केन्द्रकी अध्यक्ष एवं कराते र फुटबलकी पूर्व राष्ट्रिय खेलाडी सपना लामाले हस्ताक्षर गरे ।

प्रायोजक आदर्श समाज विकास केन्द्रकी अध्यक्ष लामाले आफूले लामो समय खेलाडीका रुपमा खेलकुदमा बिताएकाले खेलाडी सम्मानको कार्यक्रममा सहभागिता जनाएको बताइन् । ‘लामो समय खेलाडीको रुपमा रहेकाले मलाई खेलकुदको माया लाग्छ । सानो कुराले पनि खेलाडीलाई ठूलो खुसी मिल्छ भन्ने म आफैंले अनुभव गरेकी छु । त्यही भएर अहिले आफू संलग्न आदर्श समाज विकास केन्द्रबाट यो सहयोग गरेका हौं,’ लामाले भनिन्, ‘हामीलाई देशको इज्जत बढाउन दिनरात मेहनत गर्ने खेलाडीको सम्मान गर्ने अभियानको हिस्सेदारका रुपमा स्विकार गर्नुभएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई धन्यवाद दिन चाहन्छु ।’ करातेकी पूर्व राष्ट्रिय खेलाडी लामा नेपाली राष्ट्रिय फुटबल टोलीकी पनि पूर्व सदस्य हुन् । नेपालले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा रजत पदक जित्दा उनी टोलीकी सदस्य थिइन । खेलाडी संघका अध्यक्ष श्रेष्ठले खेलाडीको कार्यक्रममा खेलाडीकै साथ पाउँदा संघ उत्साहित भएको बताए । ‘आदर्श समाज विकास केन्द्रको यो सहयोगले कार्यक्रमलाई थप व्यवस्थित बनाउन हामीलाई सहयोग मिल्नेछ । खेलाडीले खेलाडीको भावना बुझ्छ, सपनाजीले पनि खेलाडीको भावना बुझ्नुहुन्छ । खेलाडीको कार्यक्रममा खेलाडीकै सहयोग पाउँदा यो भावनात्मक सहकार्य बनेको छ । सहयोगका लागि म सपनाजी र आदर्श समाज विकास केन्द्रलाई धन्यवाद दिन चाहन्छु,’ श्रेष्ठले भने ।
यसैगरी खेलाडी संघका मानार्थ अध्यक्ष ओलम्पियन दीपक विष्टले खेलकुदमा निजी क्षेत्रको आगमनले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहन मिल्ने बताए । ‘यस्ता सहयोगले कार्यक्रम आयोजकका साथै खेलाडीलाई हौसला मिल्छ । तपाईहरुको सहयोगपछि खेलाडी संघले थप व्यवस्थित र भव्य रुपमा कार्यक्रम गर्नेछौं,’ विष्टले भने । यही शुक्रबार हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीको नगद पुरस्कारका लागि वार्षिक २ लाख रुपैयाँका दरले पाँच वर्षसम्म जनता बैंकले प्रायोजन गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.