पुस ९, काठमाडौं । पछिल्लो समय नेपालमा मधुमेह (डायबिटिज) रोगीको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
सोमबार राजधानीमा भएको एक कार्यक्रममा स्वास्थ्य विज्ञहरुले नेपालमा पछिल्लो समय मधुमेह रोगीहरुको संख्या बढ्ने क्रममा रहेको जनाएका हुन् । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा। ज्योति भट्टराईले सहरी क्षेत्रका मानिसहरुमा मधुमेह रोग बढ्दो क्रममा देखिएको बताइन् । “उचित खानपानमा ध्यान नदिँदा मधुमेह रोगका बिरामीहरुको संख्या बढिरहेको छ,” उनले भनिन्, “पछिल्लो समय मधुमेहको औषधि नियमितरुपमा प्रयोग गर्नुपर्ने अवस्थामा वृद्धि भएको छ ।”
मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरुले मानिसमा मोटोपना देखिने र मुटुमा समेत समस्या आउनसक्ने तर्फ सचेत हुनुपर्ने डा। भट्टराई बताउँछिन् । त्यसैगरी, मधुमेह रोग विशेषज्ञ डा दिना श्रेष्ठले पछिल्लो समय दैनिक जीवनशैलीमा ध्यान नदिँदा हरेक दिन मधुमेहका नयाँ बिरामी बढिरहेको बताइन् । “मधुमेह लाग्न नदिन उचित खानपानमा ध्यान दिने र दैनिक व्यायाम गरेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ,” उनले भनिन्, “मधुमेह रोग उपचारका लागि अत्याधुनिक औषधिहरु नेपालमा नै उपलब्ध छन् । तर त्यसको प्रयोग गर्दा समेत चिकित्सकको परामर्श र सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।”
त्यसैगरि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा अमित शाक्यले मधुमेह रोग विश्वमा नै महामारीको रुपमा फैलिएको बताए । “यो रोग विकासोन्मुख मुलुकहरुमा अझ भयावह रुपमा देखिने गरेको छ,” उनले भने ।

