नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदै

पुस ८, काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । महासमिति बैठकले मुलतः विधानमा व्यापक छलफल गरी अनुमोदन गर्ने एजेण्डा भएपनि बैठकमा संशोधित विधान पेश गर्न नै ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको हो ।

केही महासमिति सदस्यहरुले विधानमाथि धारणा राखेपछि आजै बैठक समापन गर्ने तयारी भइरहेको काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महासमिति सदस्यहरुले धारणा राखेपछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन गर्न लागिएको हो । काँग्रेसको महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्वारा पेश भएको विधान मस्यौदामाथि धारणा राख्ने क्रम जारी छ । यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो ।

शनिबार विधान पेश भएपछि त्यसैमा केन्द्रीत रहेर छलफल भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबारको बैठकमा विधानमाथि छलफलमा सहभागि अधिकांश जिल्ला सभापतिहरुले काँग्रेसका कुनैपनि तहका नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने माग राखेका थिए । स्वतः महाधिवेशन प्रतिनिधि हुँदा तल्लो तहसँगको सम्बन्ध कमजोर बनेको भन्दै उनीहरुले विधानमा यो व्यवस्थालाई परिवर्तन गर्न जोड दिएका हुन् । त्यस्तै आरक्षणका सवालमा पनि एक व्यक्तिले एक पटकमात्रै आरक्षण पाउनुपर्ने र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने सभापतिहरुको माग छ ।

गत शुक्रबार काँग्रेसका शीर्ष नेताहरुबीच नयाँ विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ तथा कोषाध्यक्ष १ गरी १४ जना पदाधिकारी राख्ने सहमति भएको थियो । केन्द्रीय सदस्य कार्कीका अनुसार महासमिति बैठकले संशोधित विधान सहमतिका साथ पारित गर्नु नै सबैभन्दा ठूलो उपलव्धि भएको बताए । उनले संविधानको भावनाअनुसार पार्टी संरचना बनाउने काँग्रेस एकमात्र पार्टी बनेको दाबी समेत गरे । उनले सहमतिका साथ विधान पास हुनु अर्को उपलव्धि भएको समेत बताए । तर, पदाधिकारीको सख्या, निर्वाचन पद्दति तथा केन्द्रीय सदस्यहरुको सङ्ख्याका बारेमा काँग्रेसमा व्यापक विवाद भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.