तीस वर्षपछि गाउँमा खानेपानी

पुस ७, सल्यान । कालीमाटी गाउँपालिका–२ सल्यान वराढुङ्गाकी ५० वर्षीया भीमकुमारी वलीले खोलाको पानी प्रयोग गर्न थालेको ३० वर्ष भयो । गाउँ नजिकमा पानीको मुहान नभएपछि भीमकुमारी मात्र होइन, गाउँमा बस्ने सबैले नजिकै बग्ने खहरे खोलाको धमिलो पानी प्रयोग गर्दै आइरहेका छन् ।

नजिकमा पानीको मुहान नभएपछि खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य भएको स्थानीय शिवलाल वलीले जानकारी दिए । “हाम्रो गाउँभन्दा पनि माथि अर्को गाउँ छ, नजिक पानीको मुहान नै छैन, खोलामा जेजस्तो पानी भेटियो त्यस्तै पानी खाएर वाँच्यौँ”, वलीले भने ।

खानेपानी नभएपछि गाउँमा बस्ने आधाभन्दा धेरै बसाइँ सरिसकेको स्थानीय रामचन्द्र वलीले भने । “नजिकमा पानीको स्रोत नहुने फोहर र धमिलो पानी प्रयोग गर्दा सधैँ बिरामी भइरहने भएकाले पनि गाउँमा धेरै बेसीँतिर बसाइँ सरे, विकल्प नभएका हामी यतै बसेका छौँ”, रामचन्द्रले भने । सडक, बिजुली र पानीजस्ता आधारभूत कुरा नपुगेको गाउँमा अहिले भने मुहार फेरिएको छ । पहल कार्यक्रमको आर्थिक सहयोगमा दलित विकास समाज सल्यानको आयोजनामा गाउँमा खानेपानी निर्माण भएपछि खानेपानी मात्र होइन, गाउँमा सिँचाइ सुविधासमेत उपलब्ध भएको छ ।

धेरै पटक खानेपानीको समस्या लिएर सदरमुकामसम्म धाउँदा पनि समस्या समाधान नभएपछि वाक्क भएका उनीहरु पहल कार्यक्रमले घरघरमा धारा निर्माण गरेपछि गाउँको मुहार फेरिन थालेको अनुभव गर्न थालेका छन् । “धेरै मान्छेले गाउँ छोडे अहिले खानेपानीसँगै सिँचाइ सुविधा भएपछि तरकारी खेती गरेर आम्दानी गर्न थालेका छौँ”, स्थानीय खिमलाल वलीले भने । “वर्षायाममा खोलाको धमिलो पानी खाइयो, हिउँदमा आकाशेपानी सङ्कलन गरेर खाएर बाँच्यौँ, अब दुःखका दिन गएजस्तो लाग्छ, घरमै पानीको धारा आयो”, कालीमाटी–२ वराढुङ्गाकी भीमकुमारी वललीले भनिन्, “मैले ३० वर्षपछि घरमा पानीको धारा पाएँ ।”

पहल कार्यक्रमले कालीमाटी गाउँपालिकासँग समन्वय गरेर रु ११ लाख ९३ हजारको लागतमा बहुउद्देश्यीय पानी प्रणाली निर्माण गरेपछि गाउँमा खानेपानीसँगै तरकारी खेती शुरु गरिएको खानेपानी निर्माण समितिका अध्यक्ष केशव वलीले बताए । योजना निर्माण भएपछि गाउँमा ५० रोपनी जग्गामा तरकारी खेती शुरु गरिएको उनको भनाइ छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.