पत्रकारिता किन पढ्ने ?

डाक्टरी गर्न त्यही विषय पढ्नुपर्ने, वकालत गर्न कानुन नै पढ्नुपर्ने तर सूचना र सञ्चारमा काम गर्न यही विषय पढाउने कलेज र जनशक्ति उपलव्ध हुँदाहुँदै चोर बाटोबाट अरुलाई प्रवेश गराउनु ठूलो बेइमानी हो ।

काठमाडौं — केही समय अगाडि नेपाल पत्रकार महासंघको सभापति भइसकेका अग्रजले सार्वजनिक रूपमै भने, ‘पत्रकारिता गर्न पढिरहन पर्दैन ।’ उनले यो होशमा भने या अज्ञानमा, कमजोरी लुकाउन भने या आफ्नो सफलता देखाउन उनै जानुन् । तर यसले एउटा गम्भीरचाहिंँ के प्रतिविम्बत गर्छ भने अझै पनि घर बनाउन ठेकेदार भए पुग्छ, इन्जिनियर चाहिँदैन भन्ने धङधङीबाट हाम्रा अग्रजहरूको चेतना माथि उठ्नसकेको देखिएन ।

के नेताको भाषण टिपेकै भरमा सधैँ  पत्रकार भइराख्न सकिन्छ रु सत्तापक्ष र प्रतिपक्षलाई उचाल्ने र पछार्ने गुण हुनु नै दक्ष पत्रकार भएको प्रमाण हो रु बेला—बेलामा अर्को भ्रम पनि छरिन्छ, के पत्रकारिता पढ्दैमा लेख्ने गुण आउँछ र रु के राम्रो कवि हुन साहित्यमा डिग्री गर्नैपर्छ र रु सत्य चाहिंँ के हो भने झुर र खराब पत्रकार नहुनचाहिँं पढ्न आवश्यक छ । लेखेको तथ्य ठिक भयो वा भएन, कहाँनिर चुक्यो वा शव्दहरू उत्तर–दक्षिण कतातिर बढी झुके त्यो पर्गेल्नचाहिँ पढ्न अत्ति आवश्यक छ । व्यावसायिक सीमा र मर्यादा ननाघ्न, आचारसंहिताको क्षितिज नभत्काउन, चाप्लुसीको भर्‍याङ नचढ्न कक्षाकोठाको ज्ञानले राम्रै सिकाउँछ । सिद्धान्तको फराकिलो ज्ञानले दह्रोगरी खुट्टा टेकेर लेख्न, बोल्न, बहस गर्न र परेको ठाउँमा हाकिमसँग प्रतिवाद गर्नचाहिंँ पक्कै हिम्मत बढाउँछ । कतिखेर जागिर खान निवेदन लेख्ने र कतिखेर राजीनामा पत्र लेख्ने भन्ने ब्रह्मज्ञान कक्षाकोठामा राम्रोसँग पढ्ने हो भने राम्रैसँग जानिन्छ ।

कुन मन्त्र हो, कुन भजन हो, छुट्याउने विवेक आउँछ । कुन ढुंगो हो, कुन शालिग्राम हो, चिन्न सकिन्छ । पार्टीको भतुवा भएर नारा सार्न, भत्ता पचाएर एनजीओको प्रतिवेदन छाप्न र प्रायोजकको भट्टीमा रक्सी धोकेर अखबारमा वान्ता गर्न पत्रकारिता नपढ्दा पनि खासै फरक पर्दैन । पढेर सबै आफैंले गर्न सकिने हैन, तर अरुलाई ठिक तरिकाले काममा लगाउने ज्ञानचाहिंँ लिन सकिन्छ नै । आफू कुनचाहिँं पाटोमा योग्य छु भन्ने चेतना पनि अध्ययनले अवश्यै दिन्छ ।

पछिल्लो समय सत्ताको नजिक पुग्न, राजनीतिक आस्थाका आधारमा शक्ति आर्जन गर्न र मिडियाको आड लिई आवरणमा अरु धन्दा चलाइराख्न मिडियाको दोकान खोल्ने मालिकहरूको संख्या बढ्दैछ । पत्रकारका नाममा आफन्त, कार्यकर्ता र आसेपासेलाई जागिर खुवाएर पत्रकारिताको चिरहरण गरी रमिता देखाउने काम बढ्दै गइरहेको छ । प्रेस पास झुन्ड्याएर दादागिरी गर्ने, चरित्रहत्या गर्ने र दलाली गर्नेहरूको फौजले नेपाली सञ्चार जगत कलंकित हुनथालेको छ । सञ्चार माध्यम खोल्न चाहिने न्युनतम विषयगत योग्यता र पृष्ठभूमिको स्पष्ट नीति नहुनु र पत्रकार बन्न चाहिने न्युनतम शैक्षिक योग्यता र तालिमको मापदण्ड नतोकिनुले कार्यकर्ता, दलाल र धुपौरेहरूले कतै पत्रकारिताको नयाँ पुराण लेख्ने त हैनन् भन्ने नैतिक संकट उत्पन्न हुँदैछ ।

अर्कातिर वास्तवमै गहन तरिकाले पढेर केही गर्छु भन्नेहरू काममा सहज पहुँच नपाउने, व्यावसायिक मर्यादा अपनाउन खोज्दा जागिर नपाउने वा हात धुनुपर्ने, महिनौं भोकै काम गर्नुपर्ने र योग्यताअनुसार काम, तलब सुविधा र बढुवा नपाउने खेल पनि जारी छ । मिडिया उद्योग अरु कारखानाजस्तो हैन भनेर बुझ्न अब यसका मालिकले पनि यो विषय पढे खासै फरक पर्दैन । विना विश्वविद्यालयको पढाइ पनि स्वअध्ययन, तालिम, ज्ञान र अनुभवको कसीले राम्रो स्थान र पेसागत मर्यादा बनाएका केही अपवाद भने नकार्न सकिन्न ।

अर्को धेरैलाई आमसञ्चार पत्रकारिता पढेपछि विशुद्ध समाचार लेख्ने पत्रकारमात्र बन्ने हो भन्ने भ्रम अझै विद्यमान छ । विश्वमा प्रविधिको विकाससँगै आमसञ्चारका अनेक हाँगाबिँगा विकसित भइसकेका छन् । यसको अध्ययनपछि मूलधारको सञ्चारकर्ममा प्रवेश गर्ने राजमार्ग त खुला हुन्छ नै, साथसाथै वैकल्पिक मार्गमा यात्रा गर्ने सुविधा पनि उपलव्ध हुन्छ, जसलाई धेरैले नजरअन्दाज गरेको देखिन्छ । आमसञ्चार एवं पत्रकारिता विषय अन्तर्गत मिडिया थ्योरीका अलावा मिडिया म्यानेजमेन्ट, पव्लिक रिलेसन्स, एडभरटाईजिङ, वेब डिजाइनिङ, मिडिया ल, फोटोग्राफीरभिडियोग्राफी, मिडिया मार्केटिङ, मिडिया रिसर्च लगायत अन्य धेरै विषयहरूको पढाइ हुन्छ, जसको वर्तमान बजारमा दक्ष जनशक्तिको राम्रो माग छ । यसतर्फ लाग्ने हो भने अझ राम्रो कमाइ, नाम र सिर्जनात्मक काम गर्ने प्रचुर सम्भावनाहरू पनि उत्तिकै पाइन्छन् । पत्रकारिता पढेर के काम भविष्य नै छैन भनेर सामान्यीकरण गर्नु गल्ती हुनेछ । अरु धेरै प्रशस्त फल लाग्ने सम्भावनाका क्षेत्रहरूमा आफ्नो रुचिअनुसार अँगालेर अघि बढ्न सकिन्छ । आमसञ्चार एवं पत्रकारिता विषय पढ्नेहरूका लागि अर्को लोभलाग्दो अवसर भनेको सूचना अधिकृत वा सूचना अधिकारी भएर विभिन्न कार्यालयमा काम गर्न पाउनु हो ।

सूचनाको हकसम्बन्धी ऐन, ०६४ ले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने प्रस्ट व्यवस्था गरेको छ । त्यसैगरी सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहनेछ र आयोगमा प्रमुख सूचना आयुुक्त र अन्य दुईजना सूचना आयुक्त रहनेछन् भनिएको छ । तर ती आयुक्त नियुक्तिको लागि योग्यता भने मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको स्नातक हुनुपर्नेछ भनिएको छ । यसरी अन्य विषय पढेकालाई पनि समावेश गरेर सरकारले नीतिगत रूपमै आमसञ्चार एवं पत्रकारिता विषय पढेकालाई अन्याय गरेको छ । ती पद र सूचना अधिकारीको हकमा पनि यही विषयमै स्नातक वा स्नातकोत्तर अनिवार्य गरेको हुनुपर्ने प्रावधान भएमा धेरैले यो विषय पढेरै सरकारी रोजगारी पाउने निश्चित हुनेछ भने यस विषयप्रतिको आकर्षण पनि कायम रहनेछ । सरकारले लोकसेवा अन्तर्गत नै हरेक कार्यालयमा

सूचना अधिकृतको लागि जनशक्ति आह्वान गर्दा यही विषय अनिवार्य पढेको माग गर्नु जरुरी छ । डाक्टरी गर्न त्यही विषय पढ्नुपर्ने, वकालत गर्न कानुन नै पढ्नुपर्ने तर सूचना र सञ्चारमा काम गर्न यही विषय पढाउने कलेज र जनशक्ति पनि उपलव्ध हुँदाहुँदै चोर बाटोबाट अरुलाई प्रवेश गराउनु ठूलो बेइमानी हो । यो प्रावधानको लागि सरोकारवाला सबैले सरकारलाई दबाब दिनु वा पैरवी गर्न ढिलो गर्नुहुन्न वा आवश्यक परे अदालतमै मुद्दा हाल्न ढिलाइ गर्नुहुन्न ।

कलेजबाट पढेर निस्कँदैमा व्यावहारिक रूपले पनि एकैचोटी निपुण भएर निस्कन्छ भन्ने ग्यारेन्टी दिने हैसियत हाल कसैको छैन । हाल भएका कुनै पनि कलेजहरूसँग पूर्णरूपमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र सीप विकास गराउन चाहिने सम्पूर्ण पूर्वाधार र पद्धति छैन । यदि आवश्यक दक्ष जनशक्ति यही देशभित्रै उत्पादन गर्ने हो भने पत्रकारिता पढाउने कलेजहरू र सञ्चार माध्यमहरूले संयुक्त रूपमा काम गर्नु अब ढिलो भइसक्यो । कक्षाकोठामा पढाउँदै र सँगसँगै काम गराउँदै व्यावहारिक शिक्षा पनि सँगै दिनसके मात्र प्रमाणपत्र लिएर निस्केको पहिलो दिनमै दीक्षित विद्यार्थीले कार्यकक्षमा आफ्नो भूमिका सम्हाल्न सक्छ । नेपालमा यस किसिमको अभ्यास नै हुनसकेको छैन । सञ्चार माध्यमले चाहेको दक्ष जनशक्ति र विश्वविद्यालयले उत्पादन गरिरहेको जनशक्तिबीच सन्तुलन मिलाउन र चाहेजस्तो जनशक्ति उत्पादन गर्न कसरी सहकार्य गर्न सकिन्छ भन्ने अवधारणाको विकास गर्नु अपरिहार्य भइसकेको छ ।

सरोकारवाला बसेर निक्र्योल गर्नु बुद्धिमानी हुनेछ । यसो गर्न सकिए पढने, पढाउने र काम गर्ने, गराउने सबैलाई फाइदा पुग्नेछ । अनावश्यक ढोंँग र इष्र्या पाल्नुको साटो दुवैले एकअर्काको कमजोरी स्वीकार गरी सिक्ने—सिकाउने वातावरण बनाउनु नै कालान्तरमा सबै पक्षलाई हितकारी हुनेछ । हैन भने पढ्ने मानिसहरू विस्तारै सकिने, पढेका पनि वितृष्ण भई अन्य पेसामा पलायन हुने, देश नै छोड्ने र विस्तारै पत्रकारिता चेपागाँडाहरूको हातमा पर्नेछ, जसको मूल्य महँगो सावित हुनेछ । कक्षाकोठाको गुरुले कार्यकक्ष नदेख्ने कार्यकक्षको हाकिमले कक्षाकोठा नदेख्ने स्थितिको अन्त्य हुनुपर्छ ।एकअर्काको अस्तित्व नस्वीकार्ने परिपाटीको अन्त्य तुरुन्तै हुनुपर्छ ।

कक्षामा रटाएको र किताबको पानामा पढेको—पढाएको जस्तोमात्र पनि कार्यकक्षमा हुँदैन र न्युजरुम वा प्रोडक्सनरुमा बनाएको सबै सामग्री ब्रह्मास्त्र हुन्नन् भनेर बुझ्न यी दुईबीच सहकार्य जरुरी छ । नजानेको सिक्दैमा कोही सानो हुँदैन र सिकाउँदैमा महात्मा पनि भइहाल्दैन । नजानेको काम सानै उमेरकोसँग सिक्न पनि हीनता पाल्नु हुँदैन । जानेको काम बामे सर्दै गरेकोलाई सिकाउन पनि भिँmजो मान्न हुँदैन । जिन्दगीले कहिले कसलाई गुरु कहिले कसलाई चेला बनाइराख्छ भन्ने आर्यसत्यलाई मनन गर्नसके ज्ञानले सति जानुपर्ने थिएन । बेलैमा सबैलाई चेतना आओस् ।

(लेखक पोलिगन कलेजका प्रिन्सिपल हुन्) यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो । 

Facebook.com/abeeralthapa
twitter@abeeralthapa

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.