पुस ६, काठमाडौं । अस्थायी शिक्षक परीक्षामा अनुत्तीर्ण प्रावि, निमावि र मावि तहका १ हजार ९ सय शिक्षकले पुनर्योगको लागि शिक्षक सेवा आयोगमा निवेदन दिएका छन् ।
अनुमानभन्दा अत्यधिक संख्यामा अनुत्तीर्ण भएका तीनै तहका शिक्षकहरुले पुनर्योगको आवेदन दिएका हुन् । पुनर्योगको आवेदन दिनेमा प्रावि तहका शिक्षक धेरै रहेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । उलने विज्ञापन पनि सबभन्दा बढी प्रावितहका लागि भएको बताए । निमाविका १ जना परीक्षार्थीको नतिजा पुनर्योगंपछि फरक आएको उनले जानकारी दिए । निमाविका गणित र विज्ञान विषयमा ५० जनाको पुनर्योगको आवेदनमा १ जना पास भएको उनले जानकारी दिए ।
सूचना अधिकारी खकुरेलले बाहिर सबैतिर अस्थायी शिक्षकलाई सजिलो प्रश्न सोधेर पास गराउन खोज्यो भन्ने आरोप रहेपनि आयोगले परीक्षाको पद्धतिलाई कायम गर्दै जाँच लिएको बताए । उनले विज्ञसमूहले कापी जाँच्नेदेखि सबै काम गरेको जानकारी दिए । अस्थायी शिक्षक परीक्षाकालागि मावि तहका १६ हजार १९९ शिक्षकले आवेदन दिएका थिए भने निमावि तहका लागि ३ हजार ७६४ र मावि तहका लागि ३ हजार ३३२ले आवेदन दिएका थिए । यस्तै , १२ हजार ५७३ जनाको कोटामा २३ हजार २८९ जनाले जाँच दिएको आयोगले जनाएको छ ।
तर, अपेक्षा गरेभन्दा अधिक संख्यामा परीक्षार्थी अनुत्तीर्ण भएको बताउँदै उनले कतिपय स्थानमा नतिजा शून्यसमेत भएको बताए । उनका अनुसार पूर्वाञ्चलमा विज्ञान विषयमा नतिजा शून्य आएको छ । आन्तरीक तर्फको अस्थायी शिक्षक परीक्षाको काठमाडौं जिल्ला बाहेकको नतिजा प्रकाशन भइ सकेको छ । कति अनुत्तीर्ण भए भन्ने संख्या अहिले इन्ट्रि भइनसकेको आयोगले जनाएको छ । यस विषयमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले अस्थायी शिक्षकको नतिजा आउँदा बढीमा १५ प्रतिशत अनुत्तीर्ण हुने अनुमान गरिएको भएपनि नतिजा अपेक्षाभन्दा फरक आएको बताए ।

