पुस ५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मुलुकको नेतृत्व गरिरहेका सरकारलाई असफल पार्न विभिन्न खाले षडयन्त्र भईरहेको बताएका छन् ।

मन्त्री अधिकारीले सरकार बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अन्य राजनीतिक दलहरु सरकारको प्रतिपक्षको भूमिकाभन्दा माथी बसेर शंक मात्र गरेर जनतामा भ्रम सिर्जना गर्दै आएको आरोप लगाएको छ । उनले भने –‘प्रतिपक्षीको भूमिका शंक गर्नुमात्र होईन सकारात्मक र नकारात्मक दुवै आलोचना गर्नु पनि हो ।’ राजधानीको रत्नराज्य क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित विद्यार्थी स्वागत कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीले वर्तमान सरकार जनताको जनादेश र अभिमत प्राप्त गरेको सरकर भएकाले समृद्ध राष्ट्र निर्माणको जिम्मेवारी ५ वर्षका लागि प्रधानमन्त्री केपी ओलीकै नेतृत्वको रहेको बताए । उनले राजनीतिक दलहरुलाई विश्वास गर्ने बानी आवश्यक रहेको बताउँदै वर्तमान सरकारलाई सकारात्मक सोचले सहयोग गर्न समेत आग्रह गरे ।

स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघीय सरकारको संरचना निर्माण भईसकेको र वर्तमान सरकार संघीयताको कार्यन्वयनको पक्षमा रहेको जनाउँदै मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढिरहेको बेला सरकारलाई आलोचना र सुझाव सहित सहयोग गर्नुपर्ने बताए । देश कानुनी व्यवस्था र संरचनाहरुको निर्माणमा जुटिरहेकोले अत्तिनु पर्ने अवस्था नभएको बताए । नेपालमा जनताले निर्वाचित गरेका स्थानीय सरकार, जनताले बनाएका प्रदेश सरकार र जनताले नै निर्माण गरिएका संघीय सरकारको कारण मुलुकको आर्थिक विकास र समृद्धि अवश्य हुने बताए ।

मन्त्री अधिकारीले आफू पनि विद्यार्थी राजनीतिक आन्दोलनबाट आएको बताउँदै अवको विद्यार्थी आन्दोलनले रचनात्मक र अलोचनात्मक दुवै पक्ष कायम गरेर शैक्षिक क्षेत्रको सुधारमा काम गर्न सुझाव दिए । आर.आर क्याम्पसमा स्नातक तह प्रथम वर्षका नव विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोही कार्यक्रममा जनवादी गायक जीवन शर्मा, नेपाल आईडल सिजन–२ टप ६ का प्रतिस्पर्धी पवन गिरी लगायत कलाकारहरुको सहभागी रहेको थियो ।

