बौद्धनाथ महास्तूपमा बौद्ध मेलम्ची घ्याङ गुठीले प्वालै प्वाल

पुस ३, काठमाडौँ । बौद्धनाथ महास्तूपमा बौद्ध मेलम्ची घ्याङ गुठीले प्वालै प्वाल पारेको छ । पुरातत्त्व विश्वसम्पदा क्षेत्रलाई कुरूप बनाएको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले कारबाही माग गरेको छ ।

पुरातत्त्व विभागको अनुमति समेत नलिई स्तूप परिसरमा जेनेरेटर राखेको भन्दै त्यसलाई हटाउन र सम्पदा क्षेत्रमा गैरकानुनी काम गर्ने गुठी पदाधिकारीलाई कारबाही गर्नुपर्ने समितिको माग छ । महाचैत्यको हर्मिकादेखि नै प्वाल पारिएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार लामाले बताए । ‘हजारौं प्वाल पारिएको छ,’ लामा भन्छन्, ‘ताइवान, हङकङ लगायतका नागरिक आएर ड्रिल गरे । हामीले रोक्न खोज्दा पनि मानेनन् ।’

सबैभन्दा बढी क्षति स्तूपकोमेरुदण्ड मानिने ‘सोक्सिङ’ (रस्ती) मा परेको छ । १३ तलाको बीचमा हुने ‘सोक्सिङ’ मा अग्राखको काठ हुन्छ । त्यसमा सुनको अक्षरले बुद्ध मन्त्र लेखिएको हुन्छ । ‘सोक्सिङ’ को चारै दिशामा पञ्चबुद्ध (बहिलोचन, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिसहित पञ्चबुद्ध) को प्रतिमा राखिएको हुन्छ ।

विश्वसम्पदा सूचीमा कुनै पनि नयाँ संरचना राख्न पाइँदैन । विश्वसम्पदा सूचीको बौद्धनाथ उपत्यकाको पुरानो सम्पदामध्येमा पर्छ । यसको निर्माण कुन बेला भयो भन्ने यकिन छैन । गुठीले यहाँ निगरानीका लागि सीसीक्यामेरा राख्न लागेको जनाएको छ । प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ कुनै पनि संरचना थपघट गर्न पाइँदैन । ‘पुरातत्त्व विभागको अनुमतिबिना यहाँ छुनै पाइँदैन,’ लामा भन्छन्, ‘तर यहाँ के गर्न लागेको हो हामीलाई थाहै भएन ।’

बौद्धनाथ विकास समिति ऐनअनुसार सम्पदा क्षेत्रमा कुनै हतियार प्रयोग गरी सम्पदा बिग्रार्ने काम गरेमा त्यसलाई जफत तथा कारबाही गर्ने अधिकार छ । ‘हामीले यही ऐन प्रयोग गरेर कारबाही गर्न खोज्यौं । कारबाहीका लागि प्रहरीलाई सहयोग माग्यौं । तरसहयोग गरेन ।’ गुठीले गत वर्ष बौद्धनाथ स्तूप परिसरमा डिजिटल बोर्ड राखेको थियो । स्थानीय लगायत सम्पदा संरक्षण अभियन्ताको विरोधपछि एक महिनामा गुठीले डिस्प्ले हटाएको थियो ।–कान्तिपुर दैनिक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.