पुस २, काठमाडौं । मष्तिष्कघातसम्बन्धि रोगको बारेमा नेपालका ग्रामिण भेगका चिकित्सकहरुलाई समेत जानकारी नभएको पाइएको छ ।
राजधानीमा सिनर्जी कर्पोरेशन र नेपाल स्ट्रोक एशोसिएसनद्वारा संयुक्तरुपमा गरेको कार्यशालामा ग्रामिण भेगका चिकित्सकहरुलाई मष्तिकघातको बारेमा जानकारी नभएको पाइएको हो । प्राडा जे.पी. अग्रवालले स्ट्रोक थ्रोम्बोलाईसिसबारे १० वर्षअघिसम्म धेरै चिकित्कसहरुलाई समेत जानकारी थिएन भन्दै तर अहिले धेरै जानकारी भएको बताए । उनले भने, “मष्तिष्कघातले मानिसको ज्यान नै जाने हुँदा जनचेतनामूलक कार्यक्रम हुनुपर्छ ।”
कार्यक्रममा नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष डा. लेखजंग थापाले विश्वभर ८६ प्रतिशत मानिसहरुको स्ट्रोकको कारण मृत्यु हुने गरेको बताए । “पछिल्लो समय ५९ भन्दा माथि उमेर समूहका मानिसहरुमा अत्यधिक मात्रा यो रोग लाग्ने गरेको पाइएको छ,” उनले भने, “एशोसिएसनका जनचेतना बढाउनका लागि समुदायमा गएको र सुविधा नभएको स्थानमा उनीहरुलाई स्ट्रोकको बारेमा बढी जानकारी दिने गरेको छ ।”
डा. मधु दिक्षित देवकोटाले स्ट्रोक थ्रोम्बोलाईसिसके बारे जानकारी नहुँदा मानिसहरुको ज्यान जाने गरेको बताइन् । उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकलले स्ट्रोक अर्थात् मष्तिष्कघातको उपचार लामो समय लाग्ने किसिमको उपचार भएको र उपचारको लागि सुविधाजनक अस्पतालमा पठाउन कठिन अवस्थामा यसको उपचार गुणस्तरीय तरिकाले हुन सकोस् भनेर फिजिसियन र नर्सहरुका लागि तालिम आयोजना गर्ने गरेको डा. देवकोटाले बताइन् ।

