प्रारम्भ खबर । मंसिर २७, काठमाडौं । राजधानीसंगै जोडिएको काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका स्थित दाप्चाबजार अहिले संरक्षणको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऐतिहासिक र पौराणिक रुपमा चिनिने दाप्चा बजार २० वर्षअघि निकै व्यस्त रहेता पनि अहिले सुनसान देखिन्छ ।

२० वर्ष अगाडी पूर्वी ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुका व्यापारिक केन्द्रविन्दुको रुपमा रहेको दाप्चा बजार अहिलेको बनेपा बजारभन्दा निकै व्यस्त र मानिसहरुको ठूलो चहपहल हुने गरेको स्थानीय माधवकुमार श्रेष्ठ बताउँछन् । त्यस्तै दाप्चा बजारमा श्रीकृष्णको जात्रा लाग्ने र यसको छुटट्ै विशेषता पनि रहेको छ । जात्रासंगै पाटनसंगको घनिष्ठ सम्बन्ध समेत रहेको दाप्चा बजार जीर्ण बन्दै गएपछि पछिल्लो समयमा दाप्चा बजार पुनःउत्थान कार्यक्रम ल्याउने योजना बनाए पनि कार्यन्वयनमा आउन नसकेको सोही बजार पुनःउत्थान समितिका सदस्य हरेराम श्रेष्ठ बताउँछन् ।

उक्त बस्तीमा नेवारहरुको बाग्लो बसोबासका कारण सबै घर तथा भौतिक संरचनाहरु नेवारी शैलीमा बनेका छन् । त्यहाँका मूख्य धार्मिक पाठपुजा गर्ने स्थान भनेको कृष्ण मन्दिर रहेको छ । हरेक वर्ष कृष्णजन्म अष्टमीमा धुमधामसंग जात्रा लाग्ने गरेको स्थानीयहरुको भनाई छ । दाप्चालाई तल्लो हटिया र माथिलो हटियाको रुपमा चिनिन्छन् । उक्त बजारमा प्रत्येक मानिसहरुको बाग्लो उपस्थितिका कारण सधै मेला जतिकै हुने गरेकाले हटिया नामाकरण भएको पनि उल्लेख छ ।
पहिला–पहिला बटुवाहरु धान, तोरी, मकैको व्यापार गर्न आउने गरेको र उनीहरु त्यहाँ बास बस्दाँ खुकुरीको दाप भुईमा बिसाएर आराम गर्ने र सुत्ने गरिएकाले दाप्चा नाम रहेको स्थानीय माधव श्रेष्ठ बताउँछन् । त्यस बेलाको प्रख्यात बजार अहिले सुनसान अवस्थामा पुग्दा चिन्तित छन् त्यहाँका बासिन्दाहरु । त्यस्तै दाप्चाबजारमा रहेका भौतिक संरचना मठ मन्दिर र घरको संरक्षणका साथै बाटोको मर्मत सम्भारको आवश्यकता रहेको स्थानियहरु बताउँछन् । पुरातत्विक विभागबाट सोही बजारको संरक्षणका लागि योजना समेत आईसकेको उल्लेख गर्दै दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन लागिएको नमोबुद्ध नगरपालिका वडा नं. ९ का सदस्य गोपालकृष्ण श्रेष्ठ बताउँछन् ।

त्यहाँ स्थित दाप्चामा ऐतिहासिक पोखरी ‘डराउने पोखरी’ मानव पाइला आकारको देखिन्छ । यो पोखरी महादेवको ‘पाईला’ भन्ने किम्बदन्ती पाईन्छ । त्यहाँ रहेको घरहरुको आकृति विभिन्न कालखण्डमा रहेको मूर्तिहरु भेटिन्छन् । घरका झ्यालहरुमा पुराना शैलीका कलात्मक आकृतिहरु देख्न सकिन्छ । यहाँ दाप्चा कोट कालिका मन्दिर पनि रहेको छ । यो मन्दिरको थुम्काबाट करिब २० मिटर अग्लो टावर बनायौं भने सगरमाथा हिमालको चुचुरो हेर्न सकिन्छ भन्ने भनाई छ । यस मन्दिरमा हरेक वर्षको बैशाक १ गते मेला लाग्ने गर्दछ । प्रत्येक वर्ष दशैको घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म पूजा गर्नेको भीड लाग्ने गर्दछ । महानवमीका दिन बाजागाजाका साथ कोट मौलो पूजा गरिन्छ ।
पौराणीक र ऐतिहासिक बस्ती अर्थात् दाप्चा बजारको संरक्षण तिब्र गतिमा निर्माण होस् भन्ने आशा त्यहाँका स्थानीयहरु व्यक्त गरिरहेका छन् । यस्तै मौलिकता झल्किएका सम्पत्तिहरुको संरक्षण गर्नु सरोकारवाला र राज्यकै दायित्व हो । धार्मिक, सांस्कृतिक र पौराणीक सम्पत्तिको पुर्ननिर्माणमा राज्यको ध्यान पुगोस, नेपाली कला, संस्कृतिको संरक्षण र जर्गेना गर्दै पर्यटन विकासमा टेवा पु¥याउँदै आर्थिक समृद्धि समाज निर्माणमा सहयोग पुग्ने हामी आशा गर्दछौं ।

