मुकुण्डो बनाएरै चिनिए कलाकार सुरज

मङ्सिर २६, काठमाडौं । कला सिर्जनामा धेरै समय र मेहनत पर्छ । पाटनका नेवार समुदाय नथाकिकन निरन्तर कला सिर्जनामा लाग्ने एक वर्ग हो ।

पाटनको कलाकारिता देशभित्र मात्र हैन विदेशमा पनि उत्तिकै लोकप्रिय छ । ललितपुरका वरिष्ठ कलाकार सुरज शाक्य एक श्रमजीवी कलाकार हुनुहुन्छ । नेपाल भाषामा ‘ख्वाःपा’ भनिने मुकुण्डो बनाउने पेशामा दशकौँ बिताई सक्नुभएका शाक्य नेपाली कला क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । आफू बुबासँग बस्दै गर्दा १२ वर्षकै उमेरदेखि ‘ख्वाःपा’ बनाउने पेशामा लागेको उहाँले जानकारी दिनुभयो ।तिब्बती तथा पौभा शैलीमा ख्वाःपा बनाउने पेशामा लागेका शाक्यको परिवार चार पुस्तादेखि यो पेशामा आवद्ध रहँदैआएको छ । उहाँले भन्नुभयो – “मेरा बाजे कृष्णमान शाक्यले निर्माण गरेको ‘नीलः थुँ‘ (साँढे) निर्माण गरेर पाटनको नागबहालमा स्थापना गर्नुभएको थियो । नागबहालमा हरेक १२ वर्षमा हुने राष्ट्रिय महत्वको सम्यक पूजा तथा अन्य बौद्धधर्मसँग सम्बन्धित मेला तथा उत्सवमा सर्वप्रथम उक्त ‘नीलः थुँ’ लाई पूजा गरेर मात्र अरु काम शुरु गर्ने गरिन्छ ।”

कलाकार सुरजका अनुसार कृष्णमानले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) मा पनि धातुको थुप्रै मूर्ति बनाएर राख्नुभएको थियो र कतिपय बुट्टा कुँद्नुभएको थियो । देशमा काम पाएन भनेर थुप्रै युवा विदेशतिर लागिरहेका बेला काठमाडौँ उपत्यकाका नेवार समुदाय भने धातुकला, चित्रकला, पौभा लेखन, काष्ठकलाजस्ता धेरै मेहनत र धैर्य चाहिने कर्ममा क्रियाशील रहँदै आएका छन् । पाटनमा विशेष गरी यो पेशामा बज्राचार्य तथा शाक्यहरुको संलग्नता बढी पाइन्छ । काठमाडौँ उपत्यकामा सुनचाँदीको गहना बनाउने पेशा अपनाउनेहरु पनि धेरै नेवार छन् । ‘ख्वाःपा’ कसरी बनाउनुहुन्छ भनी राखिएको जिज्ञासामा उहाँले भन्नुभयो – “विशेष गरी धातुमा थ्वःज्या, माःज्या तथा वज्या विधिबाट ढुङ्गाहरु भरेर ख्वाःपा बनाउँछौँ । नेपाल भाषामा ‘ख्वाःपाः‘ भनेको अनुहार हो । मैले विभिन्न देवदेवीको ख्वाःपा‘ बनाएको छु । विशेष गरी नेवार संस्कृति झल्काउने ख्वाःपा बनाउने पेशामा लागेको छु ।” काल भैरव, स्वेत भैरव, लाखे, गरुड, सिँघिनी (सिँहको अनुहार), सिँह मुख, जोगिनीजस्ता देवदेवीको थुप्रै मुकुण्डो पनि उहाँले बनाउनुभएको छ । स्वयम्भूनाथको स्तूप, नेवार महिलाले लगाउने विशेष गहना, श्रीयन्त्र, बज्राछोम्य मण्डला ९बज्र र पाँच बुद्धमध्ये एक अक्ष्योभ्य बुद्धको मण्डल०, म्हःपूजाका लागि चाहिने मण्डल पनि उहाँले प्रदर्शनमा राख्नुभएको छ ।

अर्को एक प्रश्नको जवाफमा कलाकार शाक्यले भन्नुभयो, “पेलिगिरी माध्यमबाट गार्नेट, टक्र्वाइज, ल्यापिस तथा मुगा गरी चार थरीको ढुङ्गा प्रयोग गरिन्छ । त्यसपछि सुनौला रङ्गको जलप लगाइन्छ । मुकुण्डोमा दाँतका लागि राँगोको हड्डी तथा शङ्खको प्रयोग हुन्छ ।” कलाकार शाक्यले नेवार समुदायका मानिस पनि सजिलो पेशा खोज्नेतिर लागेकामा चिन्तित शाक्य आफ्नै परिवारका ६ सदस्यमध्ये आफू एक्लैले मात्र यो पेशालाई निरन्तरता दिएको बताउनुहुन्छ । उहाँले सामूहिक तथा अरु गरी यसअघि ६ पटक ख्वाःपा प्रदर्शनीको आयोजना गरिसक्नुभएको छ र यो उहाँको पहिलो एकल कला प्रदर्शनी हो । मङ्सिर १४ गतेदेखि शुरु भएको यस प्रदर्शनीमा ५३ वटा सिर्जना राखिएका छन् । उक्त प्रदशनी हेर्न आउनुभएका गोरखाका रुपक भण्डारीले अन्य पेशामा भन्दा बढी मेहनत आवश्यकता पर्ने र नेपालको पनि विशिष्ट पहिचान दिलाउने यस्तो कलामा संलग्न वर्गको उत्थानका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदर्शनीमा रहेकामध्ये आफूलाई श्रीयन्त्र, स्वेतभैरव र स्वयम्भूनाथको स्तूप आकर्षक लागेको उहाँले बताउनुभयो ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.