स्थानीय तहका कर्मचारीले १० दिनभित्र समायोजन भएको पत्र बुझ्नुपर्ने

मंसिर २५, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई १० दिन भित्र आफ्नो मातहतमा रहेका स्थायी कर्मचारीलाई समाजोजन भएको पत्र थमाई त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सबै स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपािलका) लाई पत्र पठाउँदै उक्त निर्देशन दिएको हो । सरकारले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ आइतबार जारी गरेको थियो । अध्यादेशको दफा ६ को उपदफा ४ मा साविकको स्थानीय निकायबाट स्थायी नियुक्ति पाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिई सोको जानकारी मन्त्रालयलाई दिनुपर्ने उल्लेख छ ।

“अध्यादेशको दफा ६ को उपदफा ४ बमोजिम आफ्नो कार्यपालिकाबाट निर्णय गराई सम्बन्धित कर्मचारीहरुलाई निजहरुको स्थायी नियुक्तिपत्रको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजन भएको पत्र दिई सोको जानकारी यस मन्त्रालयलाई समेत दिनुहुन २०७५ मंसिर २४ गतेको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।
कर्मचारी समायोजन अध्यादेश जारी नहुँदा कर्मचारी समायोजन अन्योलमा परेको थियो । सरकारले आइतबार अध्यादेश जारी गरेपछि कर्मचारी समायोजनको बाटो खुलेको हो । यसैअनुसार संघीय मामिला मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाई समायोजन भएको पत्र १० दिनभित्र बुझ्न भनेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.