इन्जिनियर्स एसोसिएसनमा प्रगतिशील उम्मेदवारको घोषणा

मंसिर २४, काठमाडौं । नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार घोषणा गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलन गरेर समूहले उम्मेदवार घोषणा गरेको हो । घोषणासभामा समूहबाट समितिका अध्यक्ष पदका उम्मेदवार प्रा डा त्रिरत्न बज्राचार्यले इञ्जिनीयरको हकहितका लागि आफ्नो समूहलाई विजय गराउन आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउनका लागि इञ्जिनीयरलाई परिचालन गर्ने बताए । उनले समग्र इञ्जिनीयरको न्यूनतम तलब, इञ्जिनीयर स्टाफ कलेज र एशोसिएसनलाई कर्मी इञ्जिनीयरको समूह बनाउने बताए ।

महासचिव पदका उम्मेदवार छविलाल पोखरेलले एशोसिएसनभन्दा बाहिर रहेका इञ्जिनीयरलाई आकर्षण गरेर एशोसिएसनमा ल्याइने बताए । समूहका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई प्रगतिशील समूहका उम्मेदवारले अघि बढाउने बताए । मङ्सिर २८ गते हुने निर्वाचनमा समूहका तर्फबाट अध्यक्षमा बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठको उम्मेदवारी रहेको छ । यसैगरी प्रदेश नं ३ को पहिलो कार्यकारिणी समितिको अध्यक्षमा बञ्जाडे, उपाध्यक्षमा डिल्लीराम भट्ट, सचिवमा प्रदीप अधिकारी, सहसचिवमा शरद पण्डित र कोषाध्यक्षमा राजन थापाको उम्मेदवारी रहेको छ ।

मङ्सिर २८ गते एकै दिन केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशको सात कार्यकारिणी समितिको निर्वाचन हँुदैछ । उक्त दिन करीब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्ने छन् । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.