दक्षिण एशियाकै धेरै रेमिट्यान्स भित्र्याउने चौथो मुलुकमा नेपाल

मंसिर २४, काठमाडौं। धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल दक्षिण एसियाकै चौथो मुलुकमा परेको छ। विश्व बैंकले सार्वजनिक गरेको माइग्रेशन एण्ड डेभलपमेन्ट ब्रीफ ३० प्रतिवेदन २०१८ अनुसार नेपाल धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चौथो नम्बरमा पर्न सफल भएको हो।

धेरै रेमिट्यान्स भित्र्याउने मूलुकमा ७९ अर्ब ५ करोड अमेरिकी डलरसहित भारत पहिलो मुलुक भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमश पाकिस्तान र बंगलादेश परेका छन्। सन् २०१८ मा पाकिस्तानले २० अर्ब ९ करोड अमेरिकी डलर र बंगलादेशले १५ अर्ब ९ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ। चौथो स्थानमा नेपाल छ भने नेपालपछि श्रीलंका रहेको छ। श्रीलंकाले ७ अर्ब ६ करोड अमेरिकी डलर भित्र्याएको प्रतिवेदनमा उल्लेख छ। न्युन आय भएका नेपाल जस्ता मुलुकमा रेमिट्यान्स बढ्दै जानु भनेको आर्थिक उन्नती तर्फ अग्रसर हुनु रहेको नेपाल राष्ट्र बैकंका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए। निर्देशक भण्डारीले नेपालमा अघिल्लो वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स उत्साहजनक बढेको बताए।  क्षेत्रगत हिसाबले मध्य एसिया र युरोपमा रेमिट्यान्स २० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ भने दक्षिण एशियामा १४ प्रतिशतले बढेको उल्लेख छ।

रेमिट्यान्समै धेरै निर्भर रहने देशमा भने नेपाल नै दक्षिण एशियाको पहिलो मुलुकमा परेको प्रतिवेदनमा उल्लेख छ। नेपालको जीडिपीको अनुपातमा ३०.१ प्रतिशत रेमिट्यान्सले ओगट्ने उल्लेख छ। यो सूचीमा नेपाल विश्वमै ४ नम्बरमा परेको उल्लेख छ।

३७ प्रतिशतले बढ्यो रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक प्रतिवेदनमा नेपालको रेमिट्यान्स ३७ प्रतिशतले बढेको उल्लेख छ । राष्ट्रबैंकको तथ्यांक अनुसार साउन, भदौ, र असोज महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ। अघिल्लो वर्षको साउन, भदौ, असोजमा भन्दा यस वर्षमा ३७ प्रतिशतले बढेको उल्लेख छ। अघिल्लो वर्ष २ दशमलब ६ प्रतिशतले मात्रै बढेको रेमिट्यान्स यो वर्ष उच्च देखिएको हो। नेपालमा मलेशिया, कतार, दुवई, भारत, दक्षिण कोरीया, जापान लगायतका विभिन्न देशमा वैदेशिक रोजगारका लागि गएका नेपालीबाट धरै रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैंकले जनाएको छ। नेपाली समाजमा प्रचलित हुन्डी प्रयोग निरुत्साहित हुँदै गएपछि रेमिट्यान्स बृद्धि उच्च रहेको उल्लेख छ।

रेमिट्यान्ससँगै खुद ट्रान्सफर आयमा समेत बढोत्तरी भएको राष्ट्रबैंकले जनाएको छ। राष्ट्र बैकका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा खुद ट्रान्सफरमर आय ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसै अबधिमा ४ दशमलव ३ प्रतिशतले बढेको थियो। यसै वर्षको तीन महिनामा वैदेशिक रोजागारीमा जाने नेपालीको संख्या भने ३६ दशमलव ७ प्रतिशतले घटेको छ। मलेशिया कामदार पठाउन रोक लगाए सँगै मलेशिया जाने कामदारको संख्या समेत घटेको प्रतिवेदनमा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदार संख्या घटेपनि रेमिट्यान्स भने उल्लेखय वृद्धि रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.