कास्कीको सुन्तलाः एकादेशको कथा बन्दै

मंसिर २१, पोखरा। विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमसँगै केही वर्षमा नै एकादेशको कथा बन्ने चिन्ता कृषकमा देखिन्छ ।

झण्डै एक दशकयता सुन्तलामा फैलिएको सिक्टस ग्रिनिङ, ढुसी, पतेरोजन्य रोगले जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप बनिसकेको छ, बचेका स्थानमा पनि रोगका लक्षण देखा पर्न थालिसकेका छन । वर्षेनी बोट सुक्दै गएपछि आयआर्जनको दिगो स्रोत जस्तै बनेका सुन्तला बगान फाँडेर कृषक दाउरा बाल्न थालेका छन । कसैकसैले वर्षायाममा लौका, घिरौँलाका लागि थाँक्रो बनाउने गरेका छन ।

विगतमा सुन्तलाको राम्रो उत्पादन गरी लाखौँ रुपैयाँमा बेच्ने किसानलाई अहिले भने चाख्न पनि बजारबाटै किन्नुपर्ने बाध्यता छ । कास्कीको भरतपोखरी क्षेत्रमा एक दशकअघिसम्म झण्डै छ हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेकोमा अहिले सबै सखाप भएको स्थानीय समाजसेवी एवं राष्ट्रिय सुन्तला उत्पादक सङ्घ नेपालका पूर्व केन्द्रीय अध्यक्ष केशरप्रसाद निर्दोषीले बताउनुभयो ।

“मेरै बगैंँचामा मात्रै २२५ बोट सुन्तला थिए, अहिले सबै सखाप भइसकेको छ,” उहाँले भन्नुभयो, “त्यसबेला प्रतिकिलो १५ रुपैयाँको दरले सुन्तला बिक्री गर्दा पनि रु तीन लाख आम्दानी हुने गरेको थियो, अहिलेको बजार मूल्य प्रतिकिलो ६० रुपैयाँमा बेच्न पाएको भए सुन्तलाबाटै १२ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो ।”

सुन्तलाका बोट सुक्ने क्रमसँगै कृषक ठूलो मारमा परे पनि उनीहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको उहाँको भनाइ छ । कास्कीको कृष्तिनाच्नेचौर बाहेक जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप भएको कृषक बताउँछन । सुन्तला मासिएपछि ती स्थानमा त्यही किसिमको उत्पादन दिने गरी विकल्पका रूपमा अन्य फलफूल एवं बिरुवा दिने भनिए पनि अहिलेसम्म पाउन नसकेको कृषकको गुनासो छ ।

सिक्टस ग्रिनिङ लगायतका रोगका कारण कास्कीका साथै स्याङ्जामा सुन्तलाका बोट वर्षेनी मर्दै गएको स्याङ्जा कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिनुभयो । अघिल्लो वर्ष भरतपोखरीको २० हेक्टर क्षेत्रफलमा रोग लागेका बिरुवा उखेलेर नयाँ सुन्तला लगाइएको उहाँले बताउनुभयो ।

सुन्तला खेतीको विकास तथा विस्तारका लागि कृषि कार्यालयमार्फत बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको तर त्यो पनि प्रभावकारी बन्न नसकेको कृषकको गुनासो छ ।

जिल्ला सुन्तला उत्पादक सङ्घ कास्कीका सचिव शिवराज भण्डारीले रोगका कारण सुन्तला मासिएपछि कृषक यतिखेर अब के गर्ने भन्ने अन्योलमा रहेको बताउनुभयो । समस्यामा परेका सुन्तला उत्पादक कृषकका लागि सरकारले अन्य विकल्पका राहतमुखी कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा देखा परेको सिक्टस ग्रिनिङ रोग पछिल्लो समय देशैभरि गम्भीर समस्याका रूपमा बढ्दै गएको हो । विशेष गरी कास्कीको बेगनास, हंशपुर, भरतपोखरी, अर्मला, सिल्दुजुरे, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, थुम्की, रूपाकोट लगायतका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने क्षेत्र मानिन्थ्यो ।

झण्डै एक दशक अघिसम्म हंशपुरमा चार हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेको स्थानीय समाजेवी एवं रूपा गाउँपालिका–७ का वडा अध्यक्ष दयासागर सुवेदीले बताउनुभयो । “अहिले सुन्तला लगभग लोप जस्तै भइसकेको छ, हंशपुरको कात्तिकेखर्कमा कताकति बोट भए पनि अन्यत्र बोट सुकिसकेका छन्”, उहाँले भन्नुभयो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.