शेर साङबो शेर्पा ÷
मंसिर १८, सौल कोरिया । दक्षिण कोरियामा प्रवासी श्रमीकहरुले आगामी डिसेम्बरको १६ तारिखका दिन युएनबाट घोषित १८ औँ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस मनाउने तयारी गरेका छन्।
राजधानी सउल स्थित ख्वांगह्वामुनमा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस भब्य रुपमा मनाउने गरि आन्तरिक तयारी गरिरहेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले जानकारी दिए। उक्त प्रवासी मजदुर दिवसको अवसरमा वर्तमान कोरियामा रहेका प्रवासी मजदुरहरुको समस्या र हक अधिकारका विषयमा समेत आवाज उठाउने अध्यक्ष राईले प्रष्ट्याएका छन्। प्रवासी श्रमिकहरुले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनुपर्ने, खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनु पर्ने, इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि थप गरिने १ बर्ष १० महिनाको भिषा कम्पनी मालिकको अनुमति बिना थप गर्न पाउनु पर्ने, श्रमिकले आफ्नो परिवार कोरियामा झिकाउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधीसम्म काम गर्नु पाउनुपर्ने, कम्पनी परिबर्तन गरेको श्रमीकले पनि कमिटेड श्रमीकको रुपमा आउन पाउनु पर्ने, कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नुपर्ने कृषि क्षेत्रका श्रमीकले पनि उत्पादन क्षेत्रमा परिवर्तन गर्न पाउनुपर्ने, प्रवासी श्रमीक र उसको परिवारको अधिकार रक्षाको निमित्त संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नुपर्ने लगायतका माग रहेको जनाएका छन्।
त्यसैले यही डिसेम्बर १६ तारिक एमटियुद्वारा आयोजित १८ औँ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस सफल बनाउन कोरियामा रहेका प्रवासी मजदुरहरुलाई कार्यक्रममा सहभागीता जनाउन पनि अध्यक्ष उदय राईले अपिल गरेका छन्। कार्यक्रम सउल ख्वांगह्वामुन (रेल लाइन न ५ गेट न ९) मा २०१८ डिसेम्बर १६ तारिक आईतबार दिनको ३ बजे सुरु हुनेछ।

