खेलकुदको दोहोरो सत्ता अन्त्य गर्न समिति गठन

मंसिर १८, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनालाई विभिन्न खेलमा रहेको द्वैध सत्ता अन्त्य गर्ने जिम्मेवारी दिएको छ । तेक्वान्दो, कराते, जिम्न्यास्टिक, कुस्तीलगायत राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध विभिन्न खेलमा विद्यमान समानान्तर संघको अस्तित्व अन्त्य गर्दै एक खेलमा एकमात्र संघ बनाउन मंगलबार मन्त्रालयले तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

विवाद, समस्या समाधान तथा सहजीकरण समिति नाम दिइएको समितिका सदस्यमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा छन् ।  मंगलबारकै मन्त्रीस्तरीय निर्णयबाट तिम्सिनाको नेतृत्वमा बनाइएको समितिलाई ‘विभिन्न खेलहरुका राष्ट्रिय संघमा देखिएको विवाद एवं समस्या समाधान गरी संघहरुलाई एकवद्ध गर्ने’ जिम्मेवारी दिइएको छ । परिषद्को १ सय १०औं बोर्ड बैठकले समानान्तर अस्तित्वमा रहेका संघहरुको विवाद समाधान गर्दै एक बनाउन गरेको निर्णयअनुसार समिति गठन भएको हो ।
समितिले आफ्नो प्रतिवेदन खेलकुद मन्त्रालयलाई एक महिनाभित्र बुझाउनेछ । उक्त कार्यका लागि आवश्यक कार्यव्यवस्थापन गर्न मन्त्रालयको स्वीकृतिअुनसार परिषद्बाट कर्मचारी तथा साधनस्रोत उपलब्ध हुने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.