मंसिर १८, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) सँगको सहकार्यमा रामेछाप जिल्लामा नवनिर्मित गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गरेका छन् ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पारेको उक्त विद्यालय अमेरिकाको सहयोगमा पुनर्निर्माण गरिएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबैभन्दा पहिले उक्त विद्यालयको निर्माण सम्पन्न भएको थियो । “अमेरिकी सरकार, नेपाल सरकार र यहाँका जनतासँग मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा हामी गौरवान्वित भएका छौं,” विद्यालय हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदूत बेरीले भने । उनले भूकम्पले थोपरेको कहरलाई पन्साएर नेपाल आत्मनिर्भरताको यात्रामा सहज अगाडि बढ्ने बताए ।
नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको परामर्शमा अमेरिकाले सामुदायिक संरचनाहरू, खासगरी विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकता दिँदै आएको छ । शिक्षा र स्वास्थ्य समाज विकासको महत्वपूर्ण अंग भएकोले यस्ता संस्थालाई प्राथमिकतामा राखिएको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासले २०७२ को भूकम्पपछि विकासको गतिलाई अवरुद्ध हुन नदिन पनि शिक्षा र स्वास्थ्यलाई प्रथमिकता दिन आवश्यक रहेको बताएको छ । “अनुसन्धानहरूले देखाएअनुसार माध्यमिक तहको शिक्षाले छात्राहरूलाई तिनको जीवनमा तिनले उत्तीर्ण गरेका प्रतिकक्षा २५ प्रतिशतका दरले अधिक ज्याला पाउने सम्भावना बढाउँछ । त्यतिमात्रै होइन, शिक्षाले महिला र तिनको परिवारको स्वास्थ्य अवस्थामा अचम्मैको सकारात्मक लहर ल्याउँछ । त्यसरी नै नेपालको आर्थिक समृद्धिका लागि स्वस्थ जनशक्ति तयार पार्न स्वास्थ्यमा आम मानिसको पहुँच आवश्यक छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग हाल भूकम्प प्रभावित क्षेत्रमा ३६ वटा विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा व्यस्त रहेको अमेरिकी दूतावासले जनाएको छ । २०७२ को भूकम्प पश्चात त्यसबाट प्रभावितहरूको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस कोषबाट ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुनर्निर्माणमा सहयोग मिलेको दूतावासले बताएको छ । यसैगरी १५ हजार इञ्जिनियर, निर्माण व्यवसायी, निर्माण प्राविधिक, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । अमेरिकी सहयोगमा एक हजार अस्थायी सिकाइ केन्द्रहरू, २ सय ५० संक्रमणकालीन सिकाइ केन्द्रहरूको पुनर्निर्माण सम्पन्न भएको दूतावासको दाबी छ । त्यस्तै जोखिममा परेका ९७ हजार विद्यार्थीलाई विद्यालय शिक्षा सुचारु राख्न सकून् भनेर अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

