ईन्टरनेशनल ब्याडमिन्टन सिरिज भोलिदेखि

मंसिर १७, काठमाडौं । भोलि (मंगलबार) बाट सुरु हुने योनेक्स सनराईज ईन्टरनेशनल ब्याडमिन्टन सिरिजको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

पत्रकार सम्मेलन गरी संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले प्रतियोगिताको सबै तयारी पूरा भएको र सहभागि देशका खेलाडी काठमाडौं आइपुगेको जानकारी दिए ।  धेरै खेलाडीलाई सहभागि गराउने उद्देश्यका साथ नेपालमै प्रतियोगिता आयोजना गरेको उनले बताए । पत्रकार सम्मेलनमा ब्याडमिन्टन एशियाका डेभलमेन्ट अफिसर मुसा नासिदले नेपालले पछिल्लो समय ब्याडमिन्टनमा प्रगति गरीरहेको उल्लेख गर्दै धेरै च्याम्पीयन जन्माउने आशावादी रहेको बताए । पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स गरी पाँच विधामा हुने प्रतिस्पर्धामा २० राष्ट्रका १ सय ७८ सहभागि हुँदैछन् । पुरुष एकलमा ७७, महिला एकलमा ४३, पुरुष डबल्समा ३६ महिला डबल्समा १८ र मिक्स डबल्समा ३२ खेलाडी सहभागि हुने संघले जानकारी दिएको छ । नेपालबाट १६ पुरुष र १५ महिला सहभागि हुँदैछन् ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा २२ गतेसम्म संचालन हुने पुरुष र महिला एकल तर्फको बिजेताले ७ सय ५० डलर, दोश्रोले ३ सय ८० डलर, सेमिफाईनलिष्ट प्रत्येक दुईले १ सय ४५ डलर, क्वाटरफाईनलिष्टले ६० डलर तथा प्रिक्वाटर फाईनलिष्टले ३५ डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुष युगल, महिला युगल र मिश्रीत युगल तर्फ प्रथम स्थान हात पार्नेले ७ सय ९० डलर, दोश्रो स्थान हात पार्नेले ३ सय ८० डलर, तृतीय स्थान हात पार्ने दुई जोडीले १ सय ४० डलर, क्वाटरफाईनल प्रवेश गर्नेले ७२।५० डलर तथा प्रिक्वाटरफाईनल प्रवेश गर्नेले ३७।५० डलर प्राप्त गर्ने छन् । विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्वीकृतिमा नेपाल ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.