मंसिर १७, काठमाडौं । नेपाल र बंगलादेशबीच उर्जा सचिव स्तरीय संयुक्त स्थायी समितिको दुई दिने बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ ।
बैठकका लागि बंगलादेशका उर्जा सचिव अहमद काइकाउस नेतृत्वको सात सदस्यीय टोली काठमाडौंमा रहेको छ । सचिवस्तरीय बैठक भएपनि आज भने दुवै देशका सहसचिवहरुको बैठक बसेर सचिवस्तरीय बैठकका खाका तयार पार्ने छन् । सोमबार बिहान साढे ९ बजेबाट होटल हायातमा दुवै देशका उर्जा सहसचिव नेतृत्वको बैठक सुरु भएको छ । बंगलादेशका उर्जा सचिव अहमद भने चन्द्रागिरी केबुलकार चढ्न आज त्यसतर्फ गएको स्रोतले बताएको छ ।
भोलिको बैठकमा भने सचिवको पनि सहभागिता हुनेछ । नेपालका तर्फबाट उक्त बैठकमा उर्जा सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नेछन् । बैठक मुख्य रुपमा नेपालको जलविद्युतका क्षेत्रमा बंगलादेशको लगानीका विषयमा केन्द्रीत हुने जनाइएको छ । त्यसैगरी बैठकमा भारतीय भूमि हुँदै बंगलादेश सम्म नेपालको बिजुली लग्ने बारेमा समेत विस्तृत छलफल हुने अधिकारीहरुले बताएका छन् । उर्जा क्षेत्रमा विकास र सहयोगका लागि यसअघि नै नेपाल र बंगलादेशबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

