भातृसंगठन अपाङग संघको धर्ना कांग्रेस पार्टी कार्यालयमा

मंसिर १६, काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपाङग संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन । त्यस क्रममा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए । संघले पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ । संघले सोही बैठक चलिरहेका बेला आफूहरुको माग सम्बोधन गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो । माग पूरा नभए आमरण अनसन बस्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ ।

संवैधानिक व्यवस्था अनुसार पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित नगरे आमरण अनसन बस्न बाध्य हुने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए । यसैबीच, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपाङग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरे । उनले लोकतान्त्रिक पार्टी हुनुको नाताले पनि नेपाली कांग्रेसले विधान संशोधन गरिरहँदा पार्टीमा आवद्ध संघको सो मागलाई सम्बोधन गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारे । संघले पार्टीको प्रस्तावित ८ वटै तहमा आफूहरुको कम्तिमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्नासहितको दवाव आन्दोलन सुरु गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.