त्रिवि स्नातकोत्तरमा प्राइभेट भर्ना बन्द ,सेमेस्टर प्रणाली लागू गरिएकाले बन्द गरेको तर्क

मङ्सिर १६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह अध्ययन गर्न नियमित क्याम्पस जान नभ्याउने विद्यार्थीका लागि सञ्चालित प्राइभेट परीक्षा यो वर्षदेखि बन्द गरेको छ। स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरिएकाले वार्षिक प्रणालीअन्तर्गतको पढाइ बन्द गरेको तर्क त्रिविको छ। कुनै अध्ययनबिनै हचुवामा बन्द गरिएकाले बर्सेनि हजारौं विद्यार्थी प्रभावित हुने देखिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए।

त्रिविले नियमित क्याम्पस जान नसक्ने विद्यार्थीलाई घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको थियो। यसरी प्राइभेट परीक्षा दिनेमध्ये अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी हुन्थे।

स्नातकोत्तर तहअन्तर्गत यो कार्यक्रममा राजनीतिशास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टे«सन (एमपीए) पढ्न पाइन्छ। यी विषयमा प्रयोगात्मक परीक्षा नहुने भएकाले कक्षामा नियमित उपस्थित नभए पनि सैद्धान्तिक विषयको परीक्षा दिन पाइन्छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए। परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘विद्यार्थी आकर्षण त बढिरहेको छ। तर यस वर्षदेखि नयाँ भर्ना खुलाउँदैनौं। दोस्रो वर्षमा अध्ययनरत र आंशिक विद्यार्थीले भने परीक्षा दिन पाउँछन्।’

त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दीने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।

दोस्रो वर्षको नियमित र आंशिक दुवै समूहका विद्यार्थीले परीक्षा फाराम भर्ने म्याद सकीसकेको छ। छिट्टै पहिलो वर्षको पनि आंशिकतर्फ मात्र परीक्षा फाराम खोल्ने तयारी भएको नियन्त्रक जोशीले बताए। केन्द्रीय कार्यालयले नयाँ भर्ना खोल्न निर्देशन दिए आफूहरू तयार रहेको उनले बताए।

त्रिविका उपकुलपति तीर्थ खनियाँले नयाँ विद्यार्थी भर्ना गर्ने नगर्ने छलफल भइरहेको बताए। त्रिवि स्रोतका अनुसार नयाँ भर्नाबारे त्रिविका उच्च पदाधिकारीबीच पनि विवाद छ। प्राइभेट भर्ना भएका विद्यार्थी पढ्नेभन्दा चिट चोरेर र परीक्षा केन्द्रसँग मिलेमतो गरेर अमर्यादित गतिविधिमा लाग्ने भएकाले पनि रोक्नुपर्ने तर्क त्रिविका केही अधिकारीहरूको छ। त्रिविको स्नातक तहमा भने प्राइभेट परीक्षा दिन पाउने व्यवस्था कायमै छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.