मङसिर १५, काठमाडौं । ‘टिच फर’ नेपालले ‘कक्षाकोठामा एक दिन’ अभियान आइतबारदेखि शुरु गर्ने भएको छ । एक दिन एक क्षणको प्रेरणाले पनि बालबालिकाको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानअन्तर्गत विभिन्न क्षेत्रका एक सयभन्दा बढी अतिथिले टिच फर नेपाल सञ्चालित विद्यालयमा गई अध्यापन गर्नेछन् । सो अभियानमा कलाकार, पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी, उद्यमी, सामाजिक अभियन्ता, राजनीतिकर्मी, सांसद, विभिन्न संस्थाका सञ्चालकलगायत सहभागी हुने बताइएको छ । सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी उच्च मावि जान लाग्नुभएका मदन पुरस्कार विजेता अमर न्यौपाने टिच फर नेपालको कामबाट आफू प्रभावित भएको बताउनुभयो ।
न्यौपानेसँगै नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, अभिनेत्री माल्भिका सुब्बा, गायक प्रताप दासलगायत सिरहा, सिन्धुपचाल्चोक र ललितपुरका विभिन्न विद्यालयमा जाँदै हुनुहुन्छ । सांसद नवराज सिलवाल र पूर्व सांसद उदयशम्शेर राणासमेत सो कार्यक्रममा सहभागी हुने टिच फर नेपालले जनाएको छ । अभियानको उद्देश्यबारे कार्यक्रम संयोजक नवाङ शेर्पाले भन्नुभयो, “हाम्रा बालबालिकामा असीम सम्भावना छ । उनीहरूलाई प्रेरक शिक्षक र समाजबारे ज्ञानको आवश्यकता छ ।” यसअघिका कार्यक्रममा विद्यार्थी अतिथिको कक्षाबाट प्रभावित हुनाका साथै उनीहरूको सोच र व्यवहारमा समेत परिवर्तन आएको उहाँले बताउनुभयो ।
दुई हप्तासम्म चल्ने उक्त अभियानबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने आयोजकको विश्वास छ । शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा २०७० सालदेखि ललितपुर, २०७१ सालदेखि सिन्धुपाल्चोक, २०७२ सालदेखि धनुषा र २०७५ सालदेखि दाङ, लमजुङ र पर्सामा सो अभियान सञ्चालन हुँदै आएको छ । अभियानका लागि उक्त संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण युवालाई छनोट गरी तालीम प्रदान गरेर अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ती जिल्लाका ५१ सामुदायिक विद्यालयमा ११० प्रशिक्षार्थी शिक्षक कार्यरत छन् । –रासस

