एक सय स्थानीय तहमा मोबाइल एप्लिकेसन

मङ्सिर १४, काठमाडौं । एक सय स्थानीय तहले मोबाइल एप्लिकेसनलाई प्रयोगमा ल्याएका छन् । गत साउन १८ गतेबाट सुरू गरिएको मोबाइल एप्लिकेसन हालसम्म एक सय स्थानीय तहले प्रयोगमा ल्याएका हुन् ।

सूचना प्रविधि विभागले बुधबार मोबाइल एप्लिकेसन प्रयोग गर्ने स्थानीय तह एक सयवटा पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्म १९६ स्थानीय तहले मोबाइल एप्लिकेसन प्रयोगका लागि निवेदन दिएको जनाएको छ । मोबाइल एप्लिकेसनमा सम्बन्धित स्थानीय तहले प्रयोग गर्ने सेवा, कार्यक्रम र योजना, कुल कर्मचारीको सङख्या, शाखाहरू, पर्यटन, सांस्कृतिक केन्द्रहरू, शिक्षा, स्वास्थ्य र पूर्वाधारको अवस्था लगायतका विषयमा मोबाइबाट सहजै जानकारी लिन सकिने विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले जानकारी दिनुभयो ।  उहाँका अनुसार मोबाइल एप्लिकेसनबाट स्थानीय तहको यथार्थ, सूचना र तथ्याङ्क एकैपटक एकै स्थानबाट सहजै जानकारी पाउन सकिने भएकाले सुशासन कायम हुने विश्वास विभागको छ ।

चालु आर्थिक वर्षभित्र ७५३ वटै स्थानीय तहमा मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने गरी विभागले काम गरिरहेको छ । यो सेवा सञ्चालन गर्न इन्टरनेट अत्यावश्यक हुने भएकाले सबै स्थानीय तहमा इन्टरनेटको पहुँच नपुगेकाले मोबाइल एप्लिकेसन सञ्चालनमा कठिनाइ भएको उहाँको भनाइ छ । मोबाइल एप्लिकेसनका लागि सबै स्थानीय तहमा एकै प्रकृतिका टेम्प्लेटको प्रयोग गरिएको छ । सबैभन्दा बढी मोबाइल एप्लिकेसन प्रयोग गर्ने स्थानीय तहमा प्रदेश ३ रहेको छ, जसमा १९ वटा स्थानीय तहले एप्लिकेसन प्रयोगमा ल्याएका छन् । त्यस्तै, सबैभन्दा कम प्रदेश ५ रहेको छ । त्यस प्रदेशका ५ वटा मात्र स्थानीय तहले एप्लिकेसन प्रयोगमा ल्याएको विभागले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.