मंसिर १४, काठमाडौं । नेपालको पछिल्लो सरकारले समृद्धिलाई थेगोको रुपमा प्रचार गरिरहेको बेलामा बेलायतको एक थिंक ट्यांक संस्थाले जारी गरेको अध्ययन प्रतिवेदनले नेपालको अवस्था पहिलाको तुलनामा अहिले सुधार आएको देखाएको छ ।
तर, अहिलेको सरकारले गरेको कामको आधारमा भन्दापनि विगत १२ वर्षका सूचकहरुलाई आधार मान्दा नेपाल अघि देखिएको हो । गएको वर्षको तुलनामा नेपाल २ अंकले अगाडि देखिएको छ । गत वर्ष ९२ स्थानमा रहेकोमा अहिले ९० मा पुगेको हो । विगत १२ वर्षको तुलना गर्दा भने नेपाल २४ अंकले माथि उक्लिएको छ । बेलायतको लण्डनमा रहेको विश्वमामिला सम्बन्धी थिंक ट्यांक लेगाटम इन्स्टिच्युटद्वारा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनले सो कुरा देखाएको हो । सो संस्थाले १४८ मुलुक र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ समेतको अध्ययन गरेर प्रकाशन गरेको ‘द लेगाटम प्रस्परिटी इन्डेक्स २०१८’ मा नेपाल ९० औँ स्थानमा पाइएको हो । दक्षिण एशियाको समृद्धि सूचकांकमा श्रीलंका सबैभन्दा अगाडि ६७ औं स्थानमा रहेको छ । त्यसपछि नेपाल र नेपाल भन्दा भारत चार अंक पछाडि अर्थात् ९४ औं स्थानमा पाइएको छ । बंगलादेश १०९ औं,पाकिस्तान १३६ औं र अफगानिस्तान सबैभन्दा तल १४९ औँ स्थानमा पाइएको छ ।
समृद्धिका हिसाबले सबैभन्दा अघि टप टेनमा पर्ने राष्ट्रमा १ नम्बरमा नर्बे छ भने अन्यमा क्रमैसँग न्युजील्याण्ड,फिनल्याण्ड, स्वीजरल्याण्ड, डेनमार्क,स्वीडेन,बेलायत, क्यानडा, नेदरल्याण्डस र आयरल्याण्ड पाइएका छन् । गएको १२ वर्षमा संसारभरि नै समृद्धि बढेर गएको तर धनी र गरीबबीचको खाडलभने गहिरो हुँदै गएको प्रतिवेदनमा उल्लेख छ ।
https://prosperity.com/globe/Nepal

