मंसिर १३, काठमाडौं । बिहीबारदेखि काठमाडौँमा पाँच दिने चेम्बर एक्स्पो सुरु भएको छ । मंसिर १३ देखि १७ गतेसम्म नेपाल चेम्बर अफ कर्मसको आयोजना सुरु भएको व्यापार मेला म्यानमार सरकारकी प्रमुख सचेतक आङ साङ सुकी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षा पुष्पकमल दाहलले संयुक्त रुपमा उद्घाटन गरे ।
भृकुटी मण्डपमा आयोजित मेलामा नेपालका साथै जापान, म्यानमार, चीन, कोरिया, पाकिस्तान, बंगलादेशलगायतका देशका उत्पादन पनि प्रर्दशनीमा राखिएका छन् । निर्यात प्रबद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तराष्ट्रिय आर्थिक संगठनसँग सम्बन्ध विस्तारका लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ । यसपालीको एक्स्पोमा लाल्साबाट व्यापारीका समुदायको विशेष सहभागीता रहेको छ । मेलाको पार्टनर कन्ट्रिका रुपमा म्यानमार रहेको छ । आर्थिक, औद्योगिक एवं वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ।
बिहीबार चेम्बर एक्स्पोको उद्घाटन गर्न पुगेकी म्यानमारकी नेतृ सुकीले म्यानमार सरकारले आवश्यक नीति तर्जुमा गरिसकेकाले नेपाली लगानीकर्ताले निश्चिन्त म्यानमारमा लगानी गर्न आग्रह गरिन् । उनले भनिन्, “म्यानमार सरकारले गरेको नीतिगत व्यवस्थाले लगानीकर्तालाई प्रतिफल पाउने सुरक्षित वातावरण सिर्जना गरेको छ । छिमेकी देश र अन्तर्राष्ट्रिय जगतका लगानीकर्तालाई आर्थिक विकासमा सहयोग पुर्याउन मेरो आग्रह छ ।” केही नेपाली लगानीकर्ताले म्यानमारमा लगानी गरिसकेकाले उनीहरुकै सुझाव बुझेर त्यहाँ लगानी गर्न उनको आग्रह छ । नेतृ सुकीका अनुसार म्यानमार सरकारले कम्पनी दर्ताका लागि सुक्ष्मविद्यूतीय प्रणाली विकास गरेकाले अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था भएको छ भने श्रमिकसम्बन्धि सुधारोन्मुख कानून निर्माण गरेको छ । बर्मेली सरकार आफूसँग भएको स्रोत पहिचा र परिचालन गरी देशमा पूर्वाधार र सहरीकरणमा लागि परेको पनि उनको दावी छ । युवाशक्ति त्यहाँको सबैभन्दा ठूलो सामथ्र्य भएका कारण आपसी हीतका लागि लगानी गर्न नेपाली लगानीकर्तासामू उनको आह्वान छ ।
यता पूर्वप्रधानमन्त्री दाहालले नेपाल राजनीतिक स्थायित्वको युगमा प्रवेश गरिसकेको र आर्थिक क्रान्तिका लागि सरकार दृढ बनिसकेका कारण नेपालमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुनेमा कुनै शंका नगर्न अनुरोध गरे । नेपालले आर्थिक विकासको नयाँ प्रक्रिया सुरु गरिसकेको र आर्थिक विकासबिना समृद्धि सम्भव नभएको बुझिसकेको उनको दावी छ । दाहालले भने, “नेपाल सरकार आर्थिक विकासका लागि नयाँ किसिमको सार्वजनिक–निजी साझेदारी प्रणाली विकासमा लागि परेको छ ।” वैदेशिक लगानी भित्र्याउन नेपाल पूर्णरुपमा तयार भइसकेको र त्यसका लागि आवश्यक वातावरण सिर्जजना भइसकेको उनको दावी छ । एक्स्पोमा म्यानमारको उद्योग वाणिज्य महासंघले सहभागिता जनाएको छ । मेलामा अटोमोबाइल, इलेक्ट्रिक्स, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेस, फेसन, मोबाइल तथा ग्याजेटस्लगायका सामाग्री विशेष आकर्षणका रुपमा रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा एक्स्पो आयोजना गरेको हो । मंसिर १८ गतेसम्म चल्ने मेलामा १८० स्टल रहेका छन् । मेलाको उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली उत्पादनको बजारीकरणमा टेवा पुर्याउँदै अन्तर्राष्ट्रिय नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनलाई बुझ्न सघाउने बताए ।

