मेलम्चीलाई समृद्ध बनाउने प्रदेश सरकारको योजना

मंसिर १३, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहेको मेलम्ची नगरपालिकाको दीर्घकालीन सोच २०९० अघि सारिएको छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको अगुवाइमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका हुन् । ‘मेलम्ची खानेपानी आयोजनाका कारण पनि मेलम्ची नगरपालिका सहित आसपासका गाउँपालिका चर्चामा छ,’ मन्त्री दुलालले भने, ‘त्यसैले प्रदेश सरकारले मेलम्ची समृद्धिका लागि दीर्घकालीन सोच अघि सारेका छ ।’ सामाजिक विकास मन्त्रालयले अगाडि सारेको दीर्घकालीन सोचमा नगरपालिकाको भू–बनोट र हावापानीका आधारमा उपलब्ध प्राकृतिक श्रोत र साधनको दिगो र अधिकतम सदुपयोग गर्दै, वातावरणीय स्वच्छता कायम राख्दै, प्राकृतिक सुन्दरताको संरक्षण र विकास गर्दै अघि बढ्न दीर्घकालीन रणनीति तय गरिएको हो । नगरपालिका र सामाजिक विकास मन्त्रालयको प्रमुख प्राथमिकतामा कृषि, उद्योग, पर्यटन र जलाधारको माध्यामबाट रोजगारी सिर्जना र उत्पादन वृद्धि गरी वि.संं. २०९० सम्ममा स्वच्छ, सुन्दर र समृद्ध मेलम्ची नगरपालिका निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ ।

मन्त्रालयले नगरपालिकासँग समन्वय गरेर कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा दक्ष युवा जनशक्ति आकषिर्त गर्ने । जलाधार क्षेत्रको संरक्षण गरि दिगो उपभोग गर्ने उल्लेख गरिएको छ । मन्त्री दुलालले पेश गरेका कार्यपत्रमा इन्द्रावती÷मेलम्ची नदी किनारामा करिडोर निर्माण गरि जमिन संंरक्षण र उकास गर्ने, इन्द्रावतीमा चेक ड्याम बनाइ ढुंगा, गिट्टी, बालुवा तथा दहत्तरबहत्तरको सुरक्षा र उपभोग गर्ने, नदी किनाराका संरक्षित जग्गालाई एकीकरण गरी, विभिन्न उद्योगको स्थापना र विस्तार गर्ने रहेको छ ।

त्यस्तै पर्यटकीय पूर्वाधारको विकास गरी आन्तरिक र बाह्य पर्यटनको वृद्धि गर्ने मन्त्रालयको योजना रहेका छ । १५८.१७ वर्ग किमी क्षेत्रफल रहेको मेलम्ची नगरपालिकामा २०६८ को जनगणना अनुसार ४५ हजार ३ सय ४३ जनसंख्या रहेको छ । जीवननिर्वाहमुखि कृषिलाई व्यवशायिकरण गर्ने, कृषिजन्य तथा पशुजन्य उपभोग्य बस्तुमा आत्मनिर्भर हुने ,पर्यटन प्रबर्धन मार्फतरोजगारी र आम्दानी वृद्धि गर्ने दीर्घकालीन सोचको मुख्य उदेश्य रहेका मन्त्री दुलालले जानकारी दिए । त्यस्तै उद्योगको स्थापना गरी रोजगारी र आर्थिक समृद्धि हासिल गर्ने, कृषि, पर्यटन, उद्योगमा नागरिक लगानी र लाभ साझेदारीको सुनिश्चितता गर्ने र प्रत्येक नागरिकलाई उद्यम या रोजगारको अवसर सुनिश्चित गर्ने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.