मंसिर १३, काठमाडौं । भोलि (शुक्रबा) देखि हुन लागेको एसिया प्यासिफिक समिटमा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विमानस्थलबाट सेन सोल्टी होटल प्रस्थान गरे। सेनको सवारीका क्रममा सडक पूरै खाली गराइएको थियो । अन्य अतिथीहरु पनि आज काठमाडौं आउने कार्यक्रम रहेको छ । विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउन लागेकोले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विहीबार बिहानैदेखि उच्चस्तरीय प्रतिनिधिमण्डलको यात्रामार्गमा पर्ने सडकका आसपासमा प्रहरीहरु खटाइएका छन् । आजदेखि नै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएकोले सडकमा सवारी साधनको संख्या केही पातलो रहेको छ ।

