मंसिर १२, कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर शैक्षिक विकासका लागि अल्पकालीन र दीर्घकालिन योजना बनाउने भएको छ । नगर शिक्षा समितिको चौथो बैठकले शैक्षिक सुधारका लागि योजना बनाउने निर्णय गरेको हो ।
शैक्षिक गुणस्तर सुधार योजनाको प्रस्ताव तयार गर्न आधारभूत तथा माध्यमिक शिक्षा शाखालाई जिम्मेवारी दिइएको छ । शाखालो सरोकारवाला निकायसँग छलफल गरी योजना प्रस्ताव तयार गर्ने शाखाका विद्यालय निरीक्षक ईश्वरी ठगुन्नाले जानकारी दिइन् ।
‘संवैधानिक व्यवस्था अनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई आएको छ’ विद्यालय निरीक्षक ठगुन्नाले भनिन्,‘त्यस अनुसार नगरको सबै शैक्षिक अवस्था अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउने निर्णय गरिएको छ, त्यसका लागि प्रस्ताव तयार गर्न आधारभूत तथा माध्यमिक तह शिक्षा शाखालाई जिम्मेदवारी दिइएको छ ।’ बैठकमा नगर प्रमुख सुरेन्द्र विष्टले नगरको शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र नगरको विकास र समृद्धिमा प्रयोग गर्न सकिने गरी योजना बनाउनु पर्नेमा जोड दिए ।
बैठकले भीमदत्त नगरपालिकालाई साक्षर नगर घोषणाका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता ९० प्रतिशत पुगेपछि साक्षर घोषणा गरिने प्रावधान छ । अहिले भीमदत्त नगरपालिकाको साक्षरता ८० प्रतिशत हाराहारीमा छ । भीमदत्त नगरपालिकामा ५५ सामुदायिक, ६५ संस्थागत र एक गुरुकुल विद्यालय सञ्चालनमा छन् ।

