मंसिर १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।
मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको बताए । प्रधानमन्त्री ओलीले भने, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउँछौँ ।”सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा विश्ववाला थापा, डा विजयदत्त, डा ध्रुव गौतम र डा राजेश अहिराज छन् ।
योजनाबद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण आवश्यक रहेको प्रधानमन्त्री ओलीले जोड दिँदै सरकार समृद्ध नेपाल, सुखी नेपाली बनाउने कार्यमा उच्च प्राथमिकतासाथ लागेको बताए । प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने जानकारी हुनुपर्ने चर्चा गर्दै कार्यदलले बनाउने प्रतिवेदनले मानव संसाधन आपूर्तिलाई मार्गदर्शन गर्न निर्देशन दिए । कार्यदलको निर्देशक समितिको संयोजकमा शिक्षा, विज्ञान प्रविधिमन्त्री छन् । कार्य दलको समयावधि चार महीना रहेको छ ।

