मङसिर ९, काठमाडौं । ओखलढुङगाका पूर्व जिल्ला सभापति, साहित्यकार एवं पत्रकार प्रेमनारायण प्रेमीको ७८ वर्षको उमेरमा शुक्रबार राति काठमाडौँमा निधन भएको छ ।
निमोनियाबाट पीडित उहाँ वीर अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा शनिबार अन्त्येष्टि गरियो । ओखलढुङगाको ठूलाछाप गाउँमा १९९७ मङ्सिर ९ गते जन्मनुभएका प्रेमी ओखलढुङगाबाट प्रकाशित हुने ‘दैलो’ पत्रिकाका प्रकाशक सम्पादक हुनुहुन्थ्यो । त्यही पत्रिकाको माध्यमबाट उहाँ ओखलढुङगाको पत्रकार, साहित्यकार र नेताको रूपमा परिचित हुनुहुन्थ्यो । पञ्चायतकालदेखि नै ओखलढुङगामा कम्युनिस्ट राजनीतिसमेत गर्दै आउनुभएका प्रेमी हाल नेकपाका नेतासमेत हुुनुहुन्थ्यो ।
उहाँका नओथारिएका कविता सङग्रह, प्रेमीको जीवनयात्रा, रगत पसिना र आँसुलजस्ता कविता, नाटकलगायतका कृति प्रकाशित छन् । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित राष्ट्रिय युवा सङगीत महोत्सव र सगरमाथा अञ्चल कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो । हाल भक्तपुरको नपली सिर्जनानगरमा बस्दै आउनुभएका प्रेमीका तीन श्रीमती, चार छोरी र एक छोरा हुनुहुन्छ ।

