मंसिर ६, भक्तपुर । आजदेखि एक महिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थलीस्थित मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे ।
पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महीनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने बताउँदै सांसद बस्नेतले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारवाहीमा परिने कुरा सबैलाई बुझाउनुपर्नेमा जोड दिए ।
जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, सङ्घसंस्था एकढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म उक्त अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुनेछ ।

