स्वास्थ्य सहायक साह २० दिनदेखि बेपत्ताः बिरामी मारमा 

मङ्सिर ५, गौशाला। महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारमा  परेका छन् ।

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताउनुभयो । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचार सेवा प्रभावित भएको छ,” पौडेलले भन्नुभयो ।

तीन जना पक्राउ

महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा डकैती गरेको अभियोगमा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ । आइतबार राति १२ देखि १४ जनाको समूहमा आएका डाकाले खखना गाउँका ललिन यादवसहित तीन जनाको घरमा रु सात लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै पाँच जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि उनीहरुको नाम सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रहरी फरार अन्य डाकाको खोजी गरिरहेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.