घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टर अधिकारीले दिए राजीनामा

मंसिर ४, काठमाडौं । वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।

मन्त्रालयले उनको राजीनामा भने स्वीकार गरेको छैन। मन्त्रालयका एक कर्मचारीका अनुसार उनको विषयमा मन्त्रालयमा छलफल भइरहेको छ। डा. अधिकारीले सोमबार राजीनामा पत्र बुझाएका हुन्। न्युरो सर्जन डा. अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बुझाएको राजीनामा पत्रमा चाकडी र घुसको रकम पुर्‍याउन नसकेकोले राजीनामा दिएको उल्लेख छ।

‘विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको थिएँ, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दुःख दिएकोले राजीनामा दिएको हुँ।’ उनले चाकडी र घुस समेत मागअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको उनले राजीनामा पत्रमा लेखेका छन्।

मन्त्री यादवका स्वकिय सचिव महेश चौरसियाका अनुसार डा अधिकारीको एक वर्ष अघि बढुवा भएको र ऐन अनुसार पोखरामा पदस्थापन गरिएको थियो। ‘बढुवा भएर पदस्थापन भएपछि सोही स्थानमा बस्न नमिल्ने भएकाले उहाँलाई सरुवा गरेर पठाइएको रहेछ। उहाँलाई कानुन अनुसार पनि वीरमा नै राख्न नमिल्ने भएकाले केही दिन उता हाजिर गरेर आउनुहोस अनि यता वीरमा पुन मिलाउँदा भनिएको थियो,’ उनले भने, ‘तर उहाँ जान मान्नुभएन। हामीले ऐन विपरित काम गर्न पनि त मिल्दैन नि। यो समस्या समाधान गर्छु भनेर मन्त्रीज्यूले पनि उहाँलाई भन्नु भएको थियो।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.