एन्टिबायोटिकको प्रयोग अत्याधिक बढेकोमा चिन्ता

मंसिर ३, काठमाडौं । चिकित्सकहरुले नेपालमा पछिल्लो समय एन्टिबायोटिकको प्रयोग अत्याधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले एन्टिबायोटिकको प्रयोग अत्यधिक मात्रामा बढेकामा चिन्ता व्यक्त गरेका हुन् । एन्टिबायोटिकको अनावश्यक प्रयोगले जोखिम निम्त्याउनुका साथै एन्टिबायोटिक प्रतिरोधि क्षमतामा ह्रास आउने उनीहरुले बताएका छन् । “चिकित्सकले चाहिनेभन्दा बढी एन्टिबायोटिक सिफारिस गर्ने र विरामीले पनि चिकित्सकले भनेअनुसार औषधी सेवन नगर्ने गर्दा एन्टिबायोटिकको प्रयोग बढ्दै गएको छ । एन्टिबायोटिकको प्रयोग खाद्यन्नमा र पशुपन्छिमा समेत रोक्नुपर्छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापदण्ड तथा नियन्त्रण तथा नियमन प्रमुख डा. दीपेन्द्र रमण सिंहले भने ।

मन्त्रालयका निमित्त सचिव तथा प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलले एन्टिबायोटिक औषधी नेपालमा चक्लेटझै किन्न सकिने बताए । उनले भने, “विदेशमा चिकित्सकको सिफारिस नभई औषधी किन्न पाईदैन । तर नेपालमा भने चिकित्सकको सिफारिसबिनै विरामीले औषधी किन्ने गर्छन् जुन विरामीकै लागि हानिकारको हो ।” “यस्तो विक्रीमा रोगथाम गनुपर्छ,” प्याकुरेलले भने, “चिकित्सकहरुले पनि औषधी दिनुभन्दा अगाडि उसको स्वास्थ्य परीक्षण गरेर मात्र औषधी दिनुपर्छ ।”
उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एन्टिबायोटिकको प्रयोग घटाउने विषयमा सरकारले छलफलका कार्यक्रम सुरु गरेको बताए । उनले भन्ने, “जथाभावी एन्टिबायोटिकको प्रयोगले मानिसको ज्यानै जाने खतरा बढेको छ ।”

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले बिरामीको आवश्यकता बिनानै एन्टिबायोटिक प्रयोग गर्दा गम्भीर समस्या देखिएको बताए । “युरोपिएन देशहरुमा पारासिटामोल किन्न चिकित्सकको सिफारिस चाहिन्छ तर हाम्रो देशमा कुनै विरामी टाउँको दुख्यो भनेर उपचारका लागि आयो कि तुरुन्तै एन्टिबायोटिक औषधी दिने चलन छ,” उनले भने । सामान्य सिएम पढेका मानिसले गाउँगाउँमा औषधी पसल खोल्दा एन्टिबायोटिकको प्रयोग दर बढेको बुझाइ राज्यमन्त्री डा। यादवको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेत्रृत्वमा देशभरका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालाहरु मार्फत कस्तो एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा अहिले जनचेतनामुलक कार्यक्रम चलिरहेको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष एन्टिबायोटिकको प्रयोगबाट विश्वमा ७ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनले सन् २०५० मा एन्टिबायोटिकको प्रयोगका कारण मृत्यु हुनेको संख्या एक करोड पुग्ने प्रक्षेपण गरेको छ । यसको प्रभाव विकशित देशभन्दा अविकशित देशहरु पर्ने जनाइएको छ । जथाभावी एन्टिबायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा रहेको समेत संगठनले बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.