मंसिर ३, कञ्चनपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सुदूरपश्चिम अध्यक्ष कर्णवहादुर थापा, प्रदेश सांसद लालबहादुर खड्कासहित विभिन्न क्षेत्रका व्यक्तिहरु झिलमिला ताल अवलोकनमा निस्केका छन् ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि नेकपा नेता थापा सहितको टोली झिलमिला ताल अवलोकनमा निस्केको हो । भीनपा वडा नं. ९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक पर्यटकीय हिसाबाले महत्वपूर्ण मानिन्छ । अध्यक्ष थापा सहितको टोलीमा भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. १७ का वडा अध्यक्ष हिमाल चन्द, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट, महाकाली अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष अशोकप्रसाद पाण्डेय, समाजसेवी उत्तम विष्ट लगायत सहभागी भएका छन् ।
यस अघि कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेश सांसद मानबहादुर सुनार, भीनपाका नगर प्रमुख विष्टसहितले तालको अवलोकन गरेका थिए । संघीय र प्रदेश सरकारका प्रतिनिधिले ताललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । भीमदत्त नगरपालिकाले झिलमिलाको ताराकोटसम्म पक्की सडक पुर्याउन गत वर्षदेखि निर्माण कार्य अघि बढाएको छ ।

