कात्तिक ३०, दाङ । दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकास वली माथि खुकुरी प्रहार भएको हो ।
प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीय थप दुई जना माथि पनि चोट लागेको छ । स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको प्रहरी निरीक्षक चौधरीले बताए ।
सोही ठाउँ निवासी बिशाल रोका र चन्द्रप्रकास नेपालीको समूहबीच आपसी विवाद पछि भएको झडपको सिर्जना भएको प्रहरीले बताएको छ । साथै खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निवासी २५ बर्षीय चन्द्रवहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाद भएको सूचनाको आधारमा आफुहरु त्यहाँ पुगेर विवादलाई साम्य पार्ने क्रममा खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

