जाडोमा निमोनियाबाट कसरी जोगिने ?

कात्तिक ३०, काठमाडाैं। शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।

वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो, धुँवा र किटाणुले फोक्सो संक्रमित भई निमोनिया हुने गर्दछ । समुदायमा हुने र अस्पतालमा भर्ना भएपछि हुने निमोनिया दुई प्रकारका हुने गर्दछन । अस्पतालजन्य निमोनिया निकै जोखिमपूर्ण हुने चिकित्सकको भनाइ छ । ढुङ्गानाको भनाइमा अस्पतालमा एक बिरामी र अर्को बिरामी हेर्दा हातको सरसफाइ गर्न सकेमा मात्रै पनि धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।

चितवन मेडिकल कलेजका वरिष्ठ छाती रोग विशेषज्ञ डा शितल अधिकारी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई निमोनियाको जोखिम उच्च हुने बताए । मिर्गौला प्रत्यारोपण, मिर्गौलाको समस्या भएका, मधुमेह, एचआइभी संक्रमितजस्ता व्यक्तिमा फङ्गसका कारण पनि निमोनिया हुन सक्ने उनको भनाइ छ । ज्वारो आउने, छाती दुख्ने, खोकी लाग्नेजस्ता लक्षण नभए पनि वृद्धहरुमा खाना नरुच्ने र चक्कर लाग्दा पनि निमोनियाको लक्षण देखा पर्न सक्ने उनले बताए ।

ब्याक्टेरियाले भएको निमोनियाको ‘एन्टिबायोटिक’ औषधि रहे पनि उचित प्रयोग गर्न नसकेमा जोखिम हुने अधिकारी बताए । भाइरस निमोनियाको भने केहीको मात्रै एन्टिभाइरल औषधि रहेको उनको भनाइ छ । तर पनि ६५ वर्ष नाघेका वृद्ध, मधुमेह भएका, मुटु, मिर्गौला र कलेजेको समस्या भएकालाई यो कडा हुने अधिकारीले बताउनुभयो । जाडो बढेसँगै मौसमी रुघाखोकी फैलने सम्भावना बढी हुने गर्दछ । उनले भने, “सबैले निमोनिया गर्दैन, तर गर्भवती महिला, बच्चा, मधुमेहका बिरामी, वृद्ध, मदिरा सेवन गर्ने व्यक्तिमा निमोनिया हुने सम्भावना बढी हुन्छ ।”

निमोनियाबाट कसरी जोगिने?

बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने चिकित्सक बताउँछन । यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेष डा युवानिधि बसौला पाँच वर्षमुनिका बच्चा निमोनियाको उच्च जोखिममा रहने बताउछन । यो उमेरमा मृत्यु हुने पाँच बच्चामध्ये एक निमोनियाको कारण मृत्यु हुने गर्दछन । बाल मृत्युको प्रमुख कारण निमोनिया रहेको चिकित्सकको भनाइ छ । बच्चालाई घरभित्रको धुँवाधुलोमा नराख्न, भीडभाडमा नलैजान, बच्चाको छेउमा बसेर चुरोट नपिउन, कुपोषणबाट बचाउन, आमाको दूध खुवाउन, झोलिलो पदार्थ खुवाउन र नियमित खोप लगाउन डा। बसौला सुझाव दिए ।

एचआइभी संक्रमित र दादुरा भएका बच्चामा उच्च जोखिम हुने भएकाले नियमित औषधि प्रयोग गरेर रोगबाट बच्नुपर्ने उहाँले बताउनुभयो । बच्चालाई न्यानोमा राख्न, हात धोएर मात्रै खाना खुवाउन, तातोपानी, तुलसी पानी खुवाउन र छ महीनापछिको बच्चालाई अतिरिक्त खाना नियमित खुवाउनुपर्ने उनको भनाइ छ ।

निमोनिया भएमा शुरुमा खोकी लाग्ने, नाकबाट सिङ्गान बग्ने र हल्का ज्वरो आएर साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो श्वास फेर्ने गाह्रो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा उच्च ज्वरो आउने भन्दै यस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा लैजान डा बसौलाले सुझाव दिए।

कडा खालको निमोनिया भएका बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा श्वास फेर्दा अस्वाभाविक आवाजसमेत आउने गर्दछ । यस्तो बेला स्वास्थ्यकर्मीहरुले उपचारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन । वरिष्ठ छाती रोग विशेषज्ञ अधिकारी जथाभावी एन्टिबायोटिकको प्रयोगले पहिले प्रभावकारी देखिएका औषधि हाल प्रभावहीन बन्दै गएको बताए । सामान्य अवस्थामा एन्टिबायोटिकको प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो । सन २००९ बाट संसारभर नोभेम्बर १२ का दिन विश्व निमोनिया दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा निमोनियालाई रोकौँ रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.