कात्तिक २९, हेटौडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले विकासको नाममा बजेट छर्ने प्रचलनले देशमा समृद्धि नआउने बताएका छन् ।
हाल विकासको नाममा चारैतिर बजेट छर्ने प्रचलनले गर्दा उन्नती गर्न नसकेको उनको टिप्पणी छ । मन्त्री जम्कट्टेलले आधारभूत आवश्यकतालाई समाउँदै सामुहिक महत्व राख्ने कुनै एक क्षेत्रमा बजेट केन्द्रित गर्न सकेमात्र विकास छिटो र दिगो हुनेमा जोड दिए । हेटौडामा सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै पत्रकारहरुलाई यसको निम्ति दबाब सिर्जना हुनेगरी कलम चलाउन उनले आग्रह गरे । विश्व दण्डहीनता दिवसको सन्दर्भमा फ्रिडम फोरमले बिहीबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले पत्रकारिता पेशा अत्यन्त संबेदनशील भएकोले पेशाको हकहित र सुरक्षाको बिषयमा पत्रकार स्वंयमले कलम चलाउनुपर्नेमा जोड दिए ।
अर्को प्रसंगमा मन्त्री जम्कट्टेलले सञ्चार ऐन प्रदेश सभामा पेश भएकोले संशोधन गर्नुपर्ने विषयमा बसेर छलफल गर्नसमेत सञ्चारकर्मीहरुलाई आग्रह गरे । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पाटन उच्च अदालत वार हेटौंडाका अध्यक्ष युजराव गौली, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, फ्रिडम फोरम प्रदेश ३ संयोजक राममणि दाहाललगायतले आफ्ना धारणा राखेका थिए । उनीहरुले लोकतन्त्रमा प्रेस स्वन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा देशभर मारिएका ३६ जना पत्रकारहरुको विषयमा बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

