नेपाल–फ्रान्स द्विपक्षिय बैठक सम्पन्न

कात्तिक २७, काठमाडौं । नेपाल र फ्रान्सबीच परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । फ्रान्सको पेरिसमा भएको बैठकमा द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरुमा छलफल भएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठक परराष्ट्र सचिव शंकर दास वैरागी र फ्रान्सको विदेश मन्त्रालयका महासचिव मौरिस गुआर्डल्ट मोन्टाग्नेबीच भएको थियो । बैठकमा दुई देशबीच जारी रहेका सहयोगका क्षेत्रको समीक्षा गरिएको थियो । आगामी दिनमा दुई देशबीच उच्चस्तरीय भ्रमणलाई बढावा दिनुपर्ने र आर्थिक गतिविधि बढाउनुपर्नेमा दुवै पक्ष सहमत भएका थिए । आउँदो वर्षलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका रुपमा भव्यताका साथ मनाउनेमा पनि दुवै पक्षले सहमति जनाएका थिए ।

बैठकमा नेपालको विकासमा फ्रान्सले निरन्तर सहयोग र समर्थन जनाउँदै आएकोप्रति परराष्ट्र सचिव वैरागीले प्रशंषा गरेका थिए । उनले नेपालको विकासका प्राथमिकताका क्षेत्रबारे फ्रान्सेली समकक्षीलाई जानकारी गराएका थिए । जवाफमा फ्रान्सको विदेश मन्त्रालयका महासचिव मोन्टाग्नेले नेपाललाई द्विपक्षीय तथा बहुपक्षीय च्यानलमार्फत् फ्रान्सको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका थिए ।  बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव वैरागीसँगै फ्रान्सको लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी पनि उपस्थित रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.