‘काठमाडौंका खाल्डा पुर्ने दायित्त्व हाम्रो मन्त्रालयको मात्र होइन’– मन्त्री महासेठ

कात्तिक २७, काठमाडौं । काठमाडौंका खाल्डा पुर्न नसकेर सरकारको आलोचना भइरहेको, प्रधानमन्त्रीले पटकपटक निर्देशन दिँदा पनि काठमाडौंका खाल्डाखुल्डी नपुरिएकाबारे सेवाग्राहीको चासोप्रति मन्त्रालयको ध्यानाकर्षण रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रयासले मात्रै समस्या हल हुन नसक्ने मन्त्री रघुवीर महासेठले बताए ।

उपत्यकामा मेलम्चीको पाइपलाइन विस्तार गर्ने कार्य जारी रहेको र त्यो नसकिँदासम्म खाल्डाको समस्या नहट्ने बताए । “लाजिम्पाट, माइतीघर क्षेत्रमा १२० वर्षे पुरानो पाइप छ । पानी चुहिरहन्छ । आज बनायो, भोलि पुनः पानी चुहिन्छ, भत्काउने र टालटुल गर्ने कार्य जारी रहँदा सडकका खाल्डा नपुरिएको हो,” उनको भनाइ थियो । मन्त्री महासेठले यससम्बन्धमा खानेपानी मन्त्रालयसँग पनि समन्वय, सहकार्य भइरहेको जानकारी दिए ।

मंसिर मसान्तभित्रमा लाइसेन्सको समस्या हल
मन्त्री महासेठले एक महिनाभित्र स्मार्ट लाइसेन्सको समस्या समाधान गर्ने वचनवद्धता व्यक्त गरेका छन् । झन्डै पाँचलाख सेवाग्राहीको स्मार्ट लाइसेन्स बनाउन बाँकी रहेकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भइरहेको मंसिर मसान्तभित्र समस्याको हल गरिने उनको भनाइ थियो । विभागले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको दरखास्त लिएर पुस ३ देखि वितरण गर्न थालेको हो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खुला प्रतिस्पर्धाबाट भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा दिएको थियो । प्रिन्टर्सले दैनिक ४ सयभन्दा बढी स्मार्ट कार्ड प्रिन्ट गर्न नसक्दा सेवाग्राहीले डेढ वर्षभन्दा लामोसमयदेखि स्मार्ट लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । प्रिन्टर्स र विभागले गरी हाल दैनिक झन्डै १३ हजारको हाराहारीमा स्मार्ट लाइसेन्स छापिरहेको र मंसिर मसान्तभित्रमा पाँचै लाख स्मार्ट लाइसेन्स छापिसक्ने उनको भनाइ थियो ।

चावहिल–साँखु, त्रिपुरेश्वर नागढुंगा सडक मंसिरमै सक्न उर्दी
मन्त्रालयले सरकार बनेयता उल्लेख्य काम गरेको भए पनि चावहिल–साँखु र त्रिपुरेश्वर–नागढुंगा सडक निर्माण नसकिँदा प्रगति नदेखिएको गुनासो गरे । चार वर्षको अन्तरालमा ६–८ हजार किलोमिटर सडक कालोपत्रे गरीसक्ने लक्ष्यका साथ काम गरिरहेका भए पनि यी दुई सडकले सरकारको ‘शून्य प्रगति’ देखिन गएको उनको स्वीकारोक्ति थियो । अतः सरकारले मंसिरभित्र काम सकिसक्न दुवै सडक खण्डका ठेकेदारलाई निर्देशन दिइसकेको उनले बताए । “त्रिपुरेश्वर– नागढुंगा सडक खण्डको ठेकेदारले फागुनसम्मको समयसीमा माग गरेको छ तर, हामीले मंसिरमै काम सक्ने निर्देशन दिइसकेका छौँ,” उनले भने, “उता चावहिल– साँखु सडक खण्डको ठेकेदारले पनि यो वर्षको अन्तिमसम्मको समय माग गरेको भए पनि मंसिरमै सक्न भनेका छौँ । नसके कारवाही हुन्छ ।”

सम्झौता गरेको लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न नगर्ने केही निर्माण कम्पनि, ठेकेदारलाई कारवाही गरेको र जरिवानासमेत असुल उपर गरेको दाबी गरे । अझ धेरै ठेकेदार कारवाहीको दायरामा आएको र सूचीसमेत प्रकाशित गरेको भन्दै हालसम्म ५ करोड ७२ लाख जरिवाना अशुलउपर गरिएको दाबी गरे । यद्यपि कारवाहीमा परेका ठेकदार, निर्माण कम्पनीको नाम भने उनले खुलाएनन् । “त्यस्ता थुप्रै निर्माण कम्पनी कारवाहीको सूचीमा छन् । प्राविधिक कारणले ती सबैको नाम खुलाउन मिल्दैन, समयमै काम नसक्ने ठेकेदार, निर्माण कम्पनी सबै कारवाहीमा पर्छन्,” उनको उद्घोष थियो । एक अर्को फरक प्रसंगमा वर्षभरि विकास बजेट खर्च नगर्ने तर आर्थिक वर्ष समाप्त हुनेहुने समय विशेष गरी असारतिर बाटो पिच गर्न थाल्ने परिपाटी यसपटकबाट विधिवत् अन्त्य गर्ने प्रतिवद्धता दोहोर्‍याए । “मैले सबैतिर निर्देशन दिइसकेको छु” उनले भने, “यसपटक जेठसम्ममात्रै काम हुन्छ । असार लागेपछि भएका कामको एक पैसा पनि भुक्तानी दिँदैनौँ । असार महिनाभरि योजना सम्पन्न भएको कागजात, बिलभरपाइ फछ्र्यौटमात्रै हुन्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.