पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई एक लाख सहयोग

कात्तिक २७, साँखु। शङ्खरापुर नगरपालिकाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो ।

नगरपालिकाले तोकेको मापदण्डअनुसार साँखु बजारक्षेत्रका आठ भूकम्पपीडितले आवास पुनःनिर्माण सम्पन्न गरी नगरपालिकाबाट रु एक।एक लाख गरी रु आठ लाख लीसकेको शङ्खरापुर नगरपालिकाका इञ्जिनीयर मिलन फुँयालले जानकारी दिनुभयो । बजारक्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक संरक्षणका लागि पुरानै शैलीमा आवास निर्माण गरेपछि नगरपालिकाबाट थप अनुदानस्वरुप रु एक लाख पाइन्छ । कात्तिकसम्ममा पुनःनिर्माण सम्मन्न गरी अनुदान पाउनेमा साँखुका शान्तिलाल श्रेष्ठ, हरिकृष्ण मानन्धर, बलराम श्रेष्ठ र राजाराम डङ्गोलसहित आठ जना छन ।

आवास निर्माण सम्पन्न गरेर नगरपालिकाबाट थप अनुदानको लागि अन्य तीन जनाले निवेदन दिएका छन । निवेदन दिएका लाभग्राहीको घर अवलोकन गरी नगरपालिकाले थप अनुदान वितरण गर्ने नगरपालिकाका प्रमुख कार्यकारी प्रमोद सिम्खडाले बताउनुभयो । नगरपालिकाले पुरानै शैलीमा घर निर्माण गर्नेलाई नक्सासमेत निःशुल्क बनाइदिने गरेको छ । इञ्जिनीयर फुँयालका अनुसार नक्साको गलत प्रयोग नहोस भनी नक्सा बनाउनुपूर्व धरौटीका लागि केही रकम नगरपालिकाको खातामा राख्ने र पछि घर सम्पन्न गरिसकेपछि फिर्ता गर्ने गरिएको छ ।

साँखु बजारका झण्डै एक हजार घरमध्ये करीब ७०० ऐतिहासिक तथा पुरातात्विक शैलीका घर ध्वस्त भएका थिए । अहिले १०० भन्दा बढी घर निर्माण भइरहेका छन । भूकम्प गएको चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घर अझै पुनःनिर्माण हुनसकेको छैनन । विसं २०७२ मा गएको भूकम्पबाट प्राचीन शहर साँखुबजारका मौलिक शैलीका धेरै घर क्षतिग्रस्त भएका थिए । शङ्खरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिकभार, जग्गा विवादलगायतका कारण साँखु बजारक्षेत्रको पुनःनिर्माण हुननसकेको स्थानीयवासी बताउँछन ।

स्थानीयवासी दिनेशलाल श्रेष्ठले पुरानै शैलीमा घर निर्माण गर्न साँखुमा अहिले दक्ष कामदारको समेत अभाव भएको बताउनुभयो । “लिच्छवीकालीन झ्यालढोका निर्माण गर्न कालीगढको अभाव छ, पाइहाले पनि अत्यधिक महङ्गा र काममा ढिलाइ हुँदा साँखुवासी पीडित छन्,” उहाँले भन्नुभयो । भूकम्पमा परी शङ्खरापुर नगरपालिकामा २६ पुरुष र ७२ महिलाको मृत्यु भएको थियो । यहाँ ६ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । जनस्तरसहित सरकारका तर्फबाट पनि साँखुका ऐतिहासिक संरचनाको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चीरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद बताउँछन । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.