कात्तिक २६, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याउने सरकारको तयारी रहेको बताएका छन्।
महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान तथा ‘आम मानिस राज्य र मिडिया’ विषयको अन्तरक्रियामा उनले नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्यालाई रोक्न महोत्तरीको गौशालालाई शैक्षिक केन्द्रको ‘हव’का रुपमा विकास गर्ने बताए। अन्तरक्रियामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सञ्चारकर्मी र मिडियाहरु सरकारको पुल भएर काम गर्नुपर्नेमा जोड दिए। उनले गरीबी निर्मूलका लागि स्थानीय सरकारले पिँधदेखि नै काम गर्नुपर्ने आवश्यक रहेको धारणा राखे।
प्रदेशसभा सदस्य भरतप्रसाद साहले निगौल गाई गौशालाको जग्गा किनबेच भइरहेको प्रति चिन्ता व्यक्त गर्दै ऐतिहासिक गौशालामा निगरानी नभएर सडकमै घर बनाउँदा धरोहर नै खतरामा परेकाले यसविरुद्ध सबैले आवाज बुलन्द गरी अगाडि बढ्नका लागि सबैसमक्ष आग्रह गरे। अर्का प्रदेशसभा सदस्य शारदा थापाले मिडिया पूर्वाग्रही बन्न नहुनेमा सञ्चारकर्मीलाई सचेत गर्दै लैङ्गिक हिंसाविरुद्ध मिडिया खरो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।

